काठमाडौँ, २६ माघ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–६ जरङ्ख बस्ने नवलपरासी पूर्व घर भएका २४ वर्षीय गुराँस गुरुङ र काठमाडौँ नारायणथान बस्ने सिन्धुली दुधौली गाउँपालिका–२ घर भएका २३ वर्षीय रोशन भुजेल रहेका छन् ।
उनीहरका साथबाट प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल एक हजार ८०० ट्याब्लेट बरामद गरेको छ । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौँ महानगरपालिका–१६ ढुङ्गेधारा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेटसहित काठमाडौँ टेकु बस्ने नुवाकोट घर भएका २२ वर्षीय प्रकाश ठकुरीलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बा५५प ८४६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीमा उक्त लागूऔषध फेला पारी चालक ठकुरीलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौँ महानगरपालिका–१८ नरदेवीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४७० ट्याब्लेटसहित तीन जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मकवानपुर घर भएका २४ वर्षीय राजेश गमाल, कालीकोट घर भएका २२ वर्षीय निराञ्जन रोकाय र काठमाडौँ महानगरपालिका–१८ घर भएका कुशलरत्न तुलाधर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनीहरूलाई प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
उता लम्कीचुहा नगरपालिका–१ लम्की बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम विकलाई प्रहरीले पक्राउ गरेको छ । निजलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकै टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ३९० मिलिग्रामसहित सोही नगरपालिका–८ बस्ने १९ वर्षीय धनराज बुढा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३७० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१ बस्ने २९ वर्षीय दिनेश विकलाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, ग्रामथान गाउँपालिका–५ सोमबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल एक हजार २० ट्याब्लेट र स्पास्पेन एक हजार ५०० ट्याब्लेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका–११ बस्ने २५ वर्षीय रन्जित साह र सोही गाउँपालिका–५ तेतरिया चोकस्थित बैजनाथ औषधि पसलका सञ्चालक ७३ वर्षीय भकुलाल विश्वास थारू रहेका प्रवक्ता काफ्लेले बताए ।
उनका अनुसार प्रहरी चौकी तेतरियाबाट खटिएको प्रहरीले तेतरियाबाट नेताचोकतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३९७३ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक रन्जित साह र सिटीमा सवार भकुलाललाई पक्राउ गरेको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ पाँच ग्राम ४२ मिलिग्रामसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय दीपक विक र २५ वर्षीय अशोक विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उक्त घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए । रासस




प्रतिक्रिया