राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण


काठमाडौँ, २६ माघ । राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का, महँगी नियन्त्रणसहित आगामी निर्वाचनको सुरक्षासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद गोमादेवी तिमिल्सिनाले भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएका नेपालीको शव स्वदेश फर्काउन र हराइरहेका श्रमिकको खोजी कार्य तीव्र पार्ने पहल गर्न सरकासँग आग्रह गरिन् ।

सांसद जयन्ती देवी राईले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको चिन्ताजनक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराइन् । सांसद दुर्गाकुमारी गुरुङले विकास निर्माणमा देखिएको अवरोधतर्फ सङ्केत गर्दै विकास बजेट रोक्का नगर्न स्पष्ट आग्रह गरिन् ।

यस्तै, आगामी निर्वाचनलाई लक्षित गर्दै नरबहादुर विष्ट र सुरेशकुमार आलेमगरले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न सबै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

सांसद विष्टले विशेषगरी झापा जिल्लामा सम्भावित द्वन्द्व र झडपको जोखिमप्रति समयमै सचेत रहन सरकारको ध्यानाकर्षण गराए । सांसद युवराज शर्माले निष्पक्ष निर्वाचनका लागि वर्तमान संविधानका पक्षधर शक्तिहरूले कडा र स्पष्ट प्रस्तुति दिनुपर्ने धारणा राखे ।

सांसद भुवनबहादुर सुनारले महँगी नियन्त्रणको विषय उठाउँदै ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रणका लागि तत्काल कदम चाल्न आग्रह रेयो । सांसद मदनकुमारी शाह (गरिमा)ले सुदूरपश्चिमका सडकहरू असुरक्षित बन्दै गएको बताउँदै यात्रु सुरक्षाका लागि तत्काल सुधार आवश्यक रहेको बताइन् ।

सांसद राजेन्द्र लक्ष्मी गैरेले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम गम्भीर सङ्कटमा रहेको बताउँदै यसलाई जोगाउन सरकार तुरुन्त अघि बढ्नुपर्ने माग गरिन् । उनले कर्मचारी र सेवाग्राही दुवैलाई हतोत्साहित हुनेगरी मापदण्ड बनाउन नहुने तर्कसमेत प्रस्तुत गरिन् । रासस