भक्तपुर, २६ माघ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आज भक्तपुरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने अभियान शुभारम्भ गरेका छन् ।
आज जिल्ला जनस्वास्थ्य कार्यालयले सूर्यविनायकमा आयोजना गरेको खोप अभियान शुभारम्भ कार्यक्रममा मन्त्री थापा मगरले खोप हस्तान्नरण गर्दै अभियानको सुरुआत गरेका हुन् । अभियान सफल पार्न सबैमा आह्वान गर्दै उनले सरकारले गत वर्ष र यस वर्ष निःशुल्क खोप उपलब्ध गराएकाले खोप नछुटाउन आह्वान गरे ।
नेपालमा भयावह बन्दै गएको क्यान्सर रोगमा पनि पहिलो नम्बरमा रहेको पाठेघरको मुखको क्यान्सर रोगलाई निर्मल पार्न सरकारले सञ्चालन गरेको खोप अभियानमा कोही किशोरी छुट्न नहुने बताए । उनले नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन चार जनाको मृत्यु हुने गरेको तथ्याङ्क रहेको बताउँदै खोप अभियान सफल पार्न सरकारले अभियान सञ्चालन गरेको बताए ।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव एवं प्रसूति रोग विशेषज्ञ डा सुमित्रा गौतमले नेपालमा पनि पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि लगाइने यो खोप शारीरिक सम्पर्क तथा यौन क्रियाकलापमा सक्रिय नहुँदैको अवस्थामा दिँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहलाई लक्षित गरिएको बताइन् ।
उनले महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा रहेको र स्तन क्यान्सर दोस्रोमा रहेको बताउँदै बागमती प्रदेशका १३ जिल्लामा खोप अभियानलाई सफल बनाउन जिल्ला, स्थानीय तह र अन्य विभिन्न निकायसँग समन्वय गरी अभियान सञ्चालन गरेको बताइन् ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले भक्तपुरमा आजदेखि फागुन १ गतेसम्म सञ्चालन हुने खोप अभियानमा यस वर्ष ३५ वटा स्वास्थ्य संस्था एवं खोप केन्द्र र ८० वटा विद्यालयबाट भक्तपुरमा तीन हजार ८८१ जना किशोरीलाई खोप लगाइने बताइन् । जसमा कक्षा ६ मा अध्ययनरत तीन हजार ८४९ किशोरी, १० वर्ष उमेर समूहका १६३ र गत वर्ष खोप लगाउन छुट भएका ७ देखि १० वर्ष उमेर समूहका ३० जना किशोरीलाई खोप लगाइने भएको उनले बताइन् ।
अभियानमा सूर्यविनायक नगरपालिकाका ८८५, १० वर्ष उमेर समूहका ७१, कक्षा ७ देखि १० छाडेका विद्यार्थी ३० र ११–१४ वर्ष उमेर समूहका २० जना किशारीलाई खोप लगाइने छ । मध्यपुरथिमि नगरपालिकामा ९२१, १० वर्ष उमेर समूहका २६, भक्तपुर नगरपालिकामा एक हजार ५१५, चाँगुनारायण नगरपालिकामा ५२९ र १० वर्ष उमेर समूहका ६६ जना किशोरीलाई खोप लगाइने छ ।
जिल्ला १० वर्ष उमेर समूहका किशोरी १६३ र कक्षा ७–१० का गत वर्ष खोप लगाउन छुटेका ३० तथा ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिरका कशोरी–किशोर २० जना किशारीलाई अभियानमा खोप लगाइने छ । फागुन १ गतेसम्मको अभियानमा छुटेका किशोरीहरूलाई फागुन ४ र ५ गते खोप केन्द्रमार्फत खोप लगाइने प्रमुख खड्काले जानकारी दिइन् ।
भक्तपुरमै अन्य जिल्लाका लागि पनि खोप भण्डारण केन्द्र रहेकाले सङ्कलित विवरणभन्दा बढी खोप लगाउनुपर्ने भएमा पनि खोप थप गर्न सहज हुने उनले बताइन् । गत वर्ष छुटेका, इँटाभट्टादेखि विभिन्न क्षेत्रबाट आएका तथा विद्यालयबाहिर रहेका किशोरीहरूलाई समेत अभियानमै एचपिभी खोप दिन कार्यालयले व्यवस्था गरेको उनले जानकारी दिइन् ।
देशभरका तीन लाख ५० हजार किशोरीलाई खोप दिइने
सरकारले देशका विभिन्न जिल्लामा आइतबारदेखि सुरु खोप अभियान फागुन १५ गतेम्म खोप अभियान सञ्चालन गर्नेछ । कक्षा ६ मा अध्ययनरत सबै र विद्यालयबाहिर रहेका १० वर्ष उमेरका तथा गत वर्ष खोप दिन छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत र विद्यालयबाहिर रहेका ११ देखि १४ वर्षका कुल तीन लाख ५० हजार ५०० किशोरीलाई एसपिभी खोप दिइने लक्ष्य राखेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिइन् ।
पाठेघरको क्यान्सरको रोकथामका लागि अमेरिकाबाट सुरु भएको यो खोप नेपालमा गत वर्षदेखि फागुन २२ गतेदेखि अभियानका रूपमा लगाउन सुरु भएको थियो । एचपिभी खोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नै सुरक्षित घोषणा गरिसकेको यो खोप अमेरिकासहित १९४ देशमा प्रयोग भइरहेको बताइएको छ । गत वर्ष १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ६८८ बालिकालाई एचपिभी खोप लगाइएको थियो । खोप अभियानमा देशभर १५ हजारभन्दा बढी स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।रासस




प्रतिक्रिया