पहुँका आधारमा विकास आयोजना छनोट हुने गरेको सांसदको अनुभव


काठमाडौँ, २६ माघ । राष्ट्रियसभाका सांसदहरुले राजनीतिक पहुँचका आधारमा विकास निर्माणका आयोजना छनोट हुने गरेको तीतो अनुभव सुनाएका छन् । राष्ट्रिय सभामा छवर्षे कार्यकाल सकिन लागेका सांसदहरुले यस अवधिमा आफूले गरेका काम र अनुभवबारेमा आजको बैठकमा जानकारी गराएका छन् ।

आजको बैठकमा नेकपा (एमाले) का सांसद शारदादेवी भट्टले धेरै हिसाबले सभाको बैठक संयमित र व्यवस्थित र मर्यादित रहेको अनुभव सुनाइन् । सौहार्द रुपमा बैठक चलेको बताउँदै उनले बाहिरबाट हेर्दा र भित्र हेर्दा भने केही फरक पाएको बताइन् । जति जोश जाँगर प्रवेश गर्दा थियो, भित्र गएपछि केही फरक अनुभूति पाएको सांसद भट्टले बताइन् ।

साथै उनले राजनीतिक पहुँचका अधारमा विकास निर्माणका आयोजना छनोट हुने गरेको तीतो अनुभव सुनाइन् । बजेट विनियोजन गर्दा सांसदका माग प्राथमिकतामा राख्नुपर्ने सुझाव दिँदै उनले आफूले महिलासम्बन्धी समस्या, दुःख, यातना बैठकमा उठाएको बताइन् ।

आर्थिक मामिला तथा सुशासन समितिमा काम गरेको अनुभव सुुनाउँदै उनले सरकारलाई जिम्मेवारी बनाउने काम भएको बताए । उनले समितिका निर्देशनलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताइन् ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद तारामान स्वारले राष्ट्रियसभाप्रति सरकार उत्तरदायी हुनुपर्ने र निर्माण भएका कानुन कार्यान्वयन ध्यान दिनुपर्नेप्रति सरकारको ध्यानाकर्षण गराए । उनले निर्णायक शक्ति प्रतिनिधि सभालाई मान्ने र बुढापाका थन्काउने थलोका रुपमा राष्ट्रियसभालाई मान्ने गरेको अनुभव सुनाए ।

समितिहरु पनि औपचारिकता पूरा गर्ने र सुझाव सङ्कलन गर्ने जस्तो मात्रै भएको उल्लेख गर्दै उनले प्रत्येक समितिका अध्ययन÷अनुसन्धान गर्न अनुसन्धान र कानुन अधिकृत नियुक्ति गर्नुपर्ने जरुरी भएको सुझाव दिए । आफूले ६ वर्ष विधायन समितिमा रहेर काम गर्ने अवसर पाएको सुनाउँदै सांसद स्वारले कानुन निर्माणमा सधैँ एकता र सहमति भएर गरिएको कुरा स्मरणीय रहेको बताए ।

मुलुकमा राजनीतिक परिर्वतन भए पनि आर्थिक प्रणालीको विकास हुन नसक्दा असन्तुष्टिहरु देखिएको बताउँदै उनले यो ६ वर्ष महत्वपूर्ण सिकाइ भएको उल्लेख गरे ।

नेकपा (एमाले) का सांसद सुमित्रा बिसीले संसद्मा आउने बित्तिकै कोभिड–१९ का कारण मुलुकले निकै कष्ट भोग्नुपरेको स्मरण गर्दै राष्ट्रियताको सवालमा नेपालको संसद्बाट चुच्चे नक्सा पास गर्दा एकताबद्ध भएको विषयले निकै गौरव अनुभूति भएको बताइन् । उनले धेरै योजना र सङ्कल्प प्रस्तावहरुमा सक्रिय हुन पाएको र कतिपय विषयहरु प्रभावकारी कार्यान्वयन नभएकोप्रति दुःख लागेको बताइन् ।

सांसद बिसीले सदनले क्यालेन्डर नै बनाएर काम गर्नु राम्रो कार्य भएको उल्लेख गर्दै विधेयकहरुमा संशोधन हाल्नु, विस्तृत छलफल हुनु महत्वपूर्ण भएको स्मरण गरिन् । उनी ६ वर्षे कार्यकालका लागि २०७६ साल माघ ९ गते कर्णाली प्रदेशबाट महिला कलष्टरमा निर्वाचित भएका थिए । रासस