चरीकोट, २६ माघ । आगामी निर्वाचनको पूर्वसन्ध्यामा दोलखामा राजनीतिक सरगर्मी बढ्दै जाँदा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ। यसै क्रममा दोलखा बिगु-२ का महेश्वर आचार्यको नेतृत्वमा एक समूह नेपाली कांग्रेसमा प्रवेश गरेको छ।
पार्टी प्रवेश गर्नेहरूलाई नेपाली कांग्रेस दोलखाका प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार अजयबाबु शिवाकोटी र जिल्लाका पार्टी सभापति वर्मा लामाले अबिर लगाएर सोमबार स्वागत गरे । नेताद्वयले नयाँ सदस्यहरूलाई पार्टीको सिद्धान्त र आगामी योजनाका बारेमा जानकारी गराउँदै संगठन विस्तारमा लाग्न आग्रह गरे ।
पार्टी प्रवेश गर्नेहरूमा विगु-२ का तुङ्गबहादुर आचार्य, उमा आचार्य, बलेकुमारी आचार्य, बुद्धबहादुर तामाङ, रीकुमारी आचार्य, मनिषाआचार्य, पर्मिला मगर र वेतनप्रसाद शिवाकोटी रहेका छन्।
यसैगरी गौरीशंकर-८ बाट सिङमान तामाङ र चटक तामाङ तथा कालिन्चोक-५ बाट हिरा थामी पनि नेपाली कांग्रेसमा आबद्ध भएका छन् ।
नवप्रवेशीहरूले कांग्रेसको नेतृत्व र विकासप्रतिको स्पष्ट भिजनबाट प्रभावित भएर आफूहरूले पार्टी परिवर्तन गरेको बताए । दोलखाको समग्र विकास र लोकतन्त्रको रक्षाका लागि अजयबाबु शिवाकोटी जस्ता युवा नेतृत्वको आवश्यकता महसुस गर्दै यो निर्णय लिएको उनीहरूको भनाइ छ।
निर्वाचनको मिति नजिकिँदै गर्दा दोलखाका विभिन्न गाउँ र टोलहरूमा पार्टी प्रवेश गर्ने र सांगठनिक छलफल गर्ने क्रमले निकै तीव्रता पाएको छ।




प्रतिक्रिया