रास्वपालक्षित प्रचण्डको टिप्पणी : पहिला जहाँ जिते त्यहाँ उनीहरूको ओरालो छ


काठमाडौं, २७ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला जितकै ठाउँमा पनि रास्वपाको अवस्था ओरालो लागेको बताएका छन् । उनले सोसल मिडियामा स्टन्ट गर्नेहरुको यसपटकको निर्वाचनमा राम्रो नहुने बताएका हुन् । उनले काठमाडौं उपत्यकामा पनि रास्वपा कमजोर अवस्थामा रहेको दाबी गरे । उनले भने–‘सोसियल मिडियावाला, स्टन्टवाला भन्ने गरेका छौँ हामीले, पहिला जहाँ जिते त्यहाँ उनीहरूको ओरालो छ । तपाईँ उपत्यकामै हेर्नुभयो भने उनीहरूको अहिले छैन । नयाँ-नयाँ ठाउँमा भ्रम दिन सजिलो हुँदो रहेछ ।’

आज पार्टी कार्यालयमा आयोजित संघीय सम्पर्क समिति केन्द्रिय निर्वाचन परिचालन समितिका अगुवाहरूसँगको अन्तरक्रियामा बोल्दै उनले यो निर्वाचनमा नेकपा पहिलो दल बन्ने दाबी गरे । उनले ७७ वटै जिल्ला र सबै निर्वाचन क्षेत्रमा आफ्नो दलले राम्रो प्रभाव पार्नसक्ने हैसियत राखेको दाबी गरेका हुन् । उनले भने,‘७७ वटै‌ जिल्ला र सबै निर्वाचन क्षेत्रमा प्रभावित गर्न सक्ने हाम्रो हैसियत छ । पार्टीले अहिले काठमाडौं उपत्यका मात्रै होइन ठूला सहरहरू पोखरा, विराटनगर, भरतपुर या दाङ, नेपालगन्ज, धनगढीजस्ता ठाउँहरूमा पनि विभिन्न क्षेत्रबाट जो नागरिकहरू त्यहाँ बसेर काम गर्छन्, उनीहरूलाई पनि केन्द्रित गर्ने अभियान पनि हामीले चलाइराखेका छौँ ।’

पछिल्लो समय दाहालले नेकपा एक नम्बरको पार्टी बन्ने दाबी गर्दै आएकोमा आजपनि यो दाबी दोहोर्याए । उनले भने,‘यो मैले कुनै भावनामा आएर भनेको होइन । हामी देशभरि घुम्दाखेरि जनताको तहमा जे स्थिति बन्दै गएको छ, त्यसलाई हेर्दा र मैले विपक्षीहरूका पनि कुरा सुन्दा, विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका सर्भेहरूको रिपोर्टहरू हेर्दा हामी पहिलो पार्टी बन्दैछौँ । त्यसका लागि यो २३÷२४ दिन युद्धस्तरमा हामी खट्नुपर्छ ।’