बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित


बागमती, २७ माघ । बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक पारित भएका छन् । हालसम्म प्रदेशसभाबाट पारित ९० विधेयकमध्ये ८९ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आएका छन् ।

प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखबाट फिर्ता भई पुनः प्रदेशसभाअन्तर्गतको विषयगत समितिमा विचाराधीन रहेको बागमती प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए । उनका अनुसार हालसम्म प्रदेशसभामा ९३ विधेयक दर्ता भएका छन् ।

यस्तै प्रदेशसभाबाट ५० मूल ऐन पारित भएका र २१ संशोधन पारित भएका सचिव दर्जीले बताए । प्रदेशसभामा दर्ता भएका १४ अध्यादेशमध्ये शत्प्रतिशत स्वीकृत भएको र सातवटा प्रतिस्थापन तथा पाँचवटा निष्क्रिय भएको उनले जानकारी दिए ।

पछिल्लो पटक प्रदेशसभामा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको छ । प्रदेश सरकार सञ्चालन गर्न आवश्यक अधिकांश ऐन कानुन प्रदेश सरकारले निर्माण गरिसकेको अन्य कतिपय ऐन, अध्यादेश, विनियमावली निर्माण क्रममा रहेका सचिव दर्जीले बताए । रासस