रामुपा नेपालको चुनावी घोषणापत्र–२०८२ सार्वजनिक


काठमाडौं, २७ माघ । ‘स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदान’ नारासहित राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरि उक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष महतोसहित वरिष्ठ उपाध्यक्ष कमला गुरुङ, महासचिव द्वय केशव झा, अनिल महासेठ, सचिव शेर बहादुर शाह, नेताहरु बलराम वाग्ले, शिवेस बज्राचार्य, अनुप बुढामगर, इन्द्र श्रेष्ठ, गमन फडेरा, सुभासिनी श्रेष्ठ, विकास घिमिरे, कृष्ण रावत, इन्दिरा थापा, नर्वदा भट्टराईलगायतको उपस्थिति थियो ।

घोषणापत्रको प्रस्तावनामा भनिएको छ,‘नेपालको इतिहासमा पहिलो पटक स्वदेशवादी दर्शनमा आधारित, बहुल राष्ट्रिय लोकतन्त्रको पक्षधर र सबै उत्पीडित समूदायको मुक्तिका लागि प्रतिबद्ध राष्ट्रिय मुक्ति पार्टी नेपाल चुनावी मैदानमा उत्रिएको छ । हामी विश्वास गर्छौ कि नेपालको वास्तविक समृद्धि र शान्ति बहुल पहिचानको सम्मान, स्वशासन र सामूदायिक समाजको निर्माणबाट मात्र सम्भव छ । यो घोषणापत्र केवल चुनावी प्रतिश्रुति होईन–यो नेपाल र नेपाली जनताको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक मुक्तिको दस्तावेज हो ।’ रामुपा नेपालले क्रान्तिको दर्शन नै स्वदेशवादी मार्ग बनाएको छ ।