फागुन १ गते पूर्वराजाको स्वागतको लागि एयरपोर्टमा आउन शाही युवा शक्ति नेपालको आह्वान, २१ फागुनअघि नै ज्ञानेन्द्र शाहलाई गद्दीरोहण गराईनुपर्ने माग


काठमाडौं, २७ माघ । शाही युवा शक्ति नेपालले आगामी फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं विमानस्थलमा भव्य स्वागतको लागि नागरिकसमक्ष अपिल गरेको छ । २१ फागुनको निर्वाचनअघि नै पूर्वराजा ज्ञानेन्द्रलाई तेस्रोपटक राजगद्दीरोहण गराईनुपर्ने शाही युवा शक्ति नेपालको माग छ । यसको लागि उसले देशव्यापी रूपमा दबावमूलक कार्यक्रमपनि आयोजना गर्दै आएको छ ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ‘अबको निकास, निर्मल निवास’ मूल नारा बनाएर मोटरसाईकल र्यालीलगायतका कार्यक्रम गर्दै आएको शाही युवा शक्तिले पूर्वराजा शाहलाई काठमाडौं विमानस्थलमा फागुन १ गते भव्य स्वागतको लागि आह्वान गरेको हो ।

अध्यक्ष पशुपति खड्काले लोकतन्त्र बचाउन र देश बचाउनको लागि पूर्वराजालाई राजगद्दीमा आरोहण गराईनुपर्ने मत राखे । उनले अहिलेपनि जनताहरु पार्टी पार्टीको नाममा कित्ताकाट भएको भन्दै अब दलभन्दा माथि उठेर देशको झण्डा बोक्न पनि अपिल गरे । उनले भने,‘अब हामी देश बचाउनको लागि एक हुनुपर्छ । देशले ०८४ को चुनाव ०८२ मा चाहिएको होईन । जेनजी आन्दोलन त भ्रष्टाचारीहरुलाई कारबाही गर्नको लागि थियो । पूराना दलका सिण्डिकेट तोड्नकोलागि थियो । प्रधानमन्त्री नै भाग्नुपरेको थियो ।’

उनले जेनजी सरकार कांग्रेस, एमाले र माओवादीसँग डराएको पनि आरोप लगाए । युवाहरुले यही गणतन्त्र र कांग्रेस, एमाले र माओवादी बचाउनको लागि गोली नखाएको उनको तर्क छ । नेपाली भएर बाँच्नको लागि पनि अब राजसंस्था फर्काउनुपर्ने उनको माग छ । २१ फागुनको निर्वाचनअघि नै पूर्वराजा शाहलाई गद्दीरोहण गराउनुपर्ने अनि सर्वपक्षीय सरकार बनाएर चुनाव गराउनुपर्ने खड्काको मत छ । उनले फागुन १ गते दिउँसो १२ बजे काठमाडौं एयरपोर्ट ओर्लिएर ज्ञानेन्द्र शाहको स्वागत गर्न अपिल गरे ।

सो कार्यक्रममा पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातले राजसंस्था फर्काउनको लागि शाही युवा शक्ति नेपालका अध्यक्ष खड्काले खेलेको निस्वार्थ भूमिकाको खुलेर प्रशंसा गरे । राजा र धर्मको नाममा खड्काले कोहीसँग पनि हात थापेर नहिँडेको भन्दै बस्न्यातले प्रशंसा गरेका हुन् । उनले देश बचाउनको लागि धर्म चाहिने बताए । उनले देशका शासकहरुले धर्म खाईसकेको आरोप लगाए । उनले देशमा सबैभन्दा माथि राजसंस्था चाहिने वकालत गरे ।