बालेनलगत्तै गगन थापा पनि पुगे सप्तरी


काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावी अभियान लिएर देश दौडाहमा निस्किएका छन् । पार्टीका उम्मेदवारलाई जिताउनको लागि उनी यतिवेला देश दौडाहमा छन् । हिजो विराटनगर विमानस्थलमा ओर्लिएका थापा मोरङ, सुनसरीको कार्यक्रम सकेर आज मधेश झरेका छन् । उनी सप्तरीका विभिन्न कार्यक्रममा व्यस्त छन् ।

थापा सप्तरी पुग्नुअघि आजै रास्वपाका वरिष्ठ नेता बालेन शाहपनि सप्तरी पुगेका थिए । बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । यता, नेपाली कांग्रेसले पनि थापालाई नै प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ । बालेन शाह आज सप्तरी, सिराहा, धनुषा हुँदै महोत्तरीको बर्दिवासमा बस्ने कार्यक्रम छ ।

कांग्रेस सभापति थापा पनि सप्तरी, सिराहा, धनुषा हुँदै मधेश यात्रामा निस्किएका छन् । यो पटकको निर्वाचनमा थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । सो क्षेत्रमा उनको भिडन्त रास्वपा प्रवेश गरेर टिकट लिएकार डा. अमरेशकुमार सिंहसँग भइरहेको छ । सिंहले चुनावी मैदान छाडेका छैनन् । तर, थापा भने उम्मेदवारी दर्ताको लागि पनि भौतिक रुपमा उपस्थित् हुन सकेनन् । उनले वारेसमार्फत आफ्नो मनोनयनपत्र दर्ता गराएका थिए। पछि उनी चुनाव क्षेत्रमा पुगेर एकसरो घरदैलो गरिसकेका छन् ।