खलङ्गा (दार्चुला), २७ माघ । दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
प्रहरी हवल्दार योगेन्द्रबहादुर घर्तीको हत्या अभियोगमा महाकाली नगरपालिका–४ की २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गौरव महतले जानकारी दिए । पक्राउ परेकी दिपिका महाकाली–४ मा सञ्चालित ‘अस्मिता बियर बार’का सञ्चालक आशिक पालकी कान्छी श्रीमती भएको उनले बताए । मृतक प्रहरी हवल्दार घर्ती पनि महाकाली नगरपालिका–४ कै बासिन्दा हुन् ।
प्रहरी नायव उपरीक्षक महतका अनुसार घटनामा संलग्न रहेका आशङ्का गरिएका ‘अस्मिता बियर बार’का सञ्चालक आशिक, उनकी जेठी श्रीमती लक्ष्मी बडू, आशिकका भाइ मनिस पाल र राजेन्द्र डँडाल फरार रहेका छन् ।
घटनापछि फरार रहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार घर्ती सोमबार राति मृत फेला परेका थिए । रासस




प्रतिक्रिया