नेकपाको प्रतिबद्धतापत्रमा भ्रष्टाचार नियन्त्रण र सुशासनको ग्यारेन्टी, ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा


काठमाडौं, २७ माघ । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार) काठमाडौंस्थित् पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममार्फत संयोजक पुष्पकमल दाहालले उक्त प्रतिबद्धततापत्र सार्वजनिक गरेका हुन् ।

नेकपाले यसपटक ‘सुशासन र रोजगारी समाजवादको तयारी तथा राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारा लिएको छ । घोषणापत्रमै यसपटक नेकपाले सार्वजनिक पद धारणा गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न एक वर्षको समयसीमा तोकी ‘उच्चस्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, अख्तियार र शतर्कता केन्द्रलाई एकीकृत गरी शक्तिशाली ‘लोकपाल’ गठन गर्ने र डिजिटल प्रशासनमार्फत सरकारी सेवालाई ‘फेसलेस र पेपरलेस’ बनाउने पनि घोषणापत्रमा दाबी गरिएको छ । नेकपाले आर्थिक सुधारको नाममा महत्वकांक्षी प्रतिबद्धता व्यक्त गरेको छ । आगामी पाँच वर्षभित्र जहाँ आर्थिक वृद्धिद्धरको लक्ष्य १० प्रतिशत लिएको छ र ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । यस्तै, उसले गरिवी पनि घटाउने भनेको छ ।