काठमाडौं, माघ २८ । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी आजदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा फौजसँगै चुनावी मैदानमा खटिन लागेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरीलाई १८ माघमा नियुक्तिपत्र दिएको थियो । उनीहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र गुल्महरूमा तालिम लिएका थिए ।
यसपटक अर्थ मन्त्रालयले निर्वाचन प्रहरीलाई ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ । २०७९ सालको निर्वाचनमा १ लाख १५ हजार निर्वाचन प्रहरी भर्ना गरिएको थियो । २०७९ को निर्वाचनमा ४० दिनको सेवा-सुविधा दिने गरी निर्वाचन प्रहरी प्रहरी खटाइएको थियो । उनीहरूलाई प्रहरी जवानको सुरु स्केलको तलबअनुसार ४० दिनको सेवा-सुविधा दिइएको थियो । यस पटक पनि ४० दिनकै लागि निर्वाचन प्रहरी भर्ना गरिएको छ । उनीहरूको तलब-भत्ता तथा सेवा-सुविधा प्रहरी जवान सरह नै रहेको जनाइएको छ ।
मतदान केन्द्रहरूलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा छुट्याइने र त्यसैअनुसार निर्वाचन प्रहरीसँगै सुरक्षाकर्मी खटाइने छ । पहिलो घेरामा प्रहरी, निर्वाचन प्रहरी रहने छन् । त्यसपछि दोस्रो घेरामा सशस्त्र प्रहरी, निर्वाचन प्रहरीले सुरक्षा प्रदान गर्नेछन् । अन्तिम अर्थात् तेस्रो घेरामा भने नेपाली सेनाले सुरक्षा गर्ने छन् । मतदान केन्द्र संवेदनशिलताका आधारमा सुरक्षाकर्मीहरू परिचालन हुन्छन् ।




प्रतिक्रिया