काठमाडौं, २८ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा भावनात्मक बहकाउभन्दा तथ्य र कामको आधारमा मत माग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा कार्यकर्ता तथा मतदातासँग भेघाटमा व्यस्त अध्यक्ष ओलीले देशभर चुनावी मैदानमा उत्रिएका एमालेका उम्मेदवार तथा प्रचारकलाई मतदातासँग आँखामा आँखा जुधाएर संवाद गर्न आग्रह गरेका छन् ।
ओलीले एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत भएको बताएका थिए । परिपक्व लोकतन्त्रमा भोट भावना भड्काएर होइन, तथ्य प्रस्तुत गरेर माग्नुपर्ने भन्दै उनले बहकाउमा होइन, कामको हिसाब सुनाएर मत माग्न भनेका छन् ।
उनले भने–‘मतदातालाई हामीले गरेका कामहरूको स्पष्ट विवरण सुनाउनुहोस् । उहाँहरूको प्रश्न धैर्यपूर्वक सुन्नुहोस् । एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत हो । ‘बहकाउमा होइन, कामको हिसाब सुनाएर मत माग्नुपर्छ । मतदातालाई डिजिटल ‘इको च्याम्बर’ भित्र कैद गरेर होइन, उम्मेदवारसँग आँखामा आँखा जुधाएर प्रश्न गर्ने अवसर दिनुपर्छ ।’
ओलीले ‘साइको थ्रेट’को राजनीतिले चुपचाप छाप भन्दै उक्साएको बताएका छन् । तर स्वस्थ निर्वाचन संस्कृतिले विमर्श र निर्णयलाई प्राथमिकता दिनेमा उनको जोड छ । ‘साइको थ्रेट’ले भन्छ– चुपचाप छाप । स्वस्थ निर्वाचन संस्कृतिले भन्छ– आँखा जुधाएर विमर्श र निर्णय । त्यसैले हाम्रो आह्वान– चुपचाप छाप होइन, सोचिविचारी छाप आँखा खोलेर भविष्य निर्माण’,अध्यक्ष ओलीले भनेका छन् । झापा–५ बाट प्रतिनिधि सभाका उम्मेदवार अध्यक्ष ओलीले यतिबेला निर्वाचन क्षेत्रमा मतदाता भेट गर्ने र उनीहरूका माग, गुनासा र सुझाव सुनिरहेका छन् ।




प्रतिक्रिया