एमाले कार्यकर्ता इतिहासमै रक्षात्मक, कांग्रेस फुटेको छ र रास्वपाको ग्राफ धेरै नै घटेको छ : सापकोटा


काठमाडौं, २८ माघ । नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले २१ फागुनको निर्वाचन आफूहरुको लागि पनि परीक्षाको विषय भएको भन्दै यसमा नेकपाले सफलता हाँसिल गर्ने बताएका छन् ।

पार्टीको आधिकारिक फेशबुक पेजमार्फत उनले यस्तो दाबी गरेका छन् । उनले अहिले कांग्रेस विभाजनको अवस्थामा रहेको र नेकपाको नूर गिरेको उल्लेख गर्दै नेकपा राम्रो अवस्थामा रहेको सुनाए । उनले भदौ २३ गतेको जेनजी आन्दोलनपछि सबैभन्दा पहिले नै पार्टी रुपान्तरणको पहलकदमी लिएको र अहिलेसम्म आईपुग्दा २५ घटक एकतामा रहेको उल्लेख गर्दै नेकपाले निर्वाचनमा राम्रो गर्ने विश्वास सुनाए । उनले भने,‘अहिले कम्युनिष्ट पार्टी र वामपन्थीहरुको मूलधार नै नेकपा नै हो भन्ने स्थापित भएको छ। १६४ वटा क्षेत्रमा उम्मेदवारी दिएका छौं । आत्मविश्वासका साथ र सक्रियताका साथ उहाँहरु मैदानमा उत्रिनुभएको छ । सबै ठाउँबाट रिपोर्ट धेरै सकारात्मक छ ।’

उनले इतिहासमै पहिलोपटक एमालेका कार्यकर्ता रक्षात्मक देखिएको टिप्पणी गरे । उनले एमालेको नेतृत्वको बदमासीको कारण उनीहरु रक्षात्मक बनेको बताए । यस्तै, कांग्रेस फुटेको र नयाँ भनिएको रास्वपाको पनि विस्तारै ग्राफ घटेको सापकोटाको विश्लेषण छ । उनले रास्वपाको स्टन्ट लामो समयसम्म नटिक्ने दाबी गरे ।

उनले भने,‘यो प्रियतावाद भनेको, स्टन्टबाज भनेको पानीको फोकाजस्तै हो । फिल्मका अभिनेताले पनि अलिक मिलाएर गर्छन् । यिनीहरुको मिलेको छैन । रास्वपा र बालेनको बीचमा जुन सहमति भयो, प्राविधिक कुराबाहेक न त दर्शनको संकेत छ, न विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा छ । दृष्टिकोण, नीति, योजना र कार्यक्रम पनि छैन् । एजेण्डा के हो ? त्यो नै स्पष्टता छैन ।’

उनले नेपाली जनताले धेरै ठूलो रगत बगाएर प्राप्त गरेको परिवर्तनको रक्षा गरिनुपर्ने बताए । उनले भने,‘नेपाली जनता धेरै नै चेतनशील छन् । धेरै अग्रगामी छन् । परिवर्तनशील छन् । पूराना पार्टीले जनताको अपेक्षा पूरा गर्न नसक्दा आक्रोश भयो । विस्फोट पनि भयो । त्यही विस्फोटमा टेकेर देशी तथा विदेशी प्रतिक्रियावादीहरुले निकै ठूलो विध्वंश मच्चाउन सफल भए । अब विस्तारै जनतालाई आखिरमा नेकपा नै हाम्रो पक्षमा बोल्ने र काम गर्ने पार्टी हो भन्ने परेको छ । मन फर्किएको छ । हामीले पनि जनतासँग आत्मालोचना गर्यौं ।’

उनले २१ फागुनमा हुने निर्वाचनलाई धेरै उलटफेरको चुनावको रुपमा चित्रण गरे । उनले भने,‘यो विश्वविद्यालयमा सिक्न चाहन्छौं । नेशन फस्ट भनेका छौं । राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता सबैलाई एक ठाउँमा केन्द्रित गर्छौं । राजनीतिक दलको हातमा पहलकदमी आईसकेको छैन । आउनुपर्छ र आउन अनिवार्य छ भन्ने कुरामा हामी सचेत छौं ।’