आइएफआरसीद्वारा नेरेसो काठमाडौँ जिल्ला शाखाद्वारा सञ्चालित मानवीय सेवाका गतिविधि जानकारी


काठमाडौँ, २८ माघ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) काठमाडौँ जिल्ला शाखाद्वारा सञ्चालित मानवीय सेवाका गतिविधिका बारेमा यहाँस्थित रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)का देशीय प्रतिनिधि डेभिड फिसरले जानकारी लिएका छन् ।

नेरेसो काठमाडौँ शाखाअन्तर्गत हाल २१ उपशाखामा आबद्ध स्वयंसेवक मानवीय सेवामा संलग्न छन् । सो आवसरमा जिल्ला सभापति श्यामकाजी डोटेलले जिल्ला शाखाको कर्मचारी व्यवस्थापन, नीति नियम तथा मानवीय सेवाका कार्यका बारेमा विस्तृत जानकारी दिएको थियो । उनले भने, “रेडक्रसका आदर्श, सिद्धान्त र मूल्य मान्यताअनुसार जिल्ला शाखाले आफ्ना मानवीय सेवाका गतिविधि केन्द्रित छ । ”

शाखाले कोभिड–१९ महामारीविरुद्ध सचेतना तथा खोप अभियानमा सरकारलाई सहजीकरण एवं उत्कृष्ट मानवीय सेवा गरेको थियो । साथै सहरी विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य, रक्तसञ्चार सेवा, प्राथमिक उपचार सेवालगायत मानवीय सेवाका कार्यक्रम शाखाले सञ्चालन गरिरहेको छ ।

सो अवसरमा आइएफआरसीका नेशनल सोसाइटी डिभलमेन्टका वरिष्ठ सल्लाहकार फाथिमाथ हिम्भा आब्द्भिव मजिदको पनि सहभागिता रहेको जिल्ला शाखाले जनाएको छ ।

सोही अवसरमा आइएफआरसीका देशीय प्रतिनिधि फिसरले मानवीय सेवामा काठमाडौ जिल्ला शाखाले गरेका कामको उच्च प्रशंसा गर्दै आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

आसन्न प्रतिनिधिसभाको निर्वाचनमा जिल्ला शाखाले आइएफआरसीको सहयोगमा काठमाडौँका दशवटै निर्वाचन क्षेत्रका मतदान स्थलमा प्राथमिक उपचार सेवाका लागि स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ । रासस