‘सबै प्रकारका भ्रष्टचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ’


गण्डकी, २८ माघ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरुप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउननुपर्ने बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आयोगको पोखरा कार्यालयद्वारा आज आयोजित समारोहमा उनले शक्ति र पद हुँदैमा कानुनी जवाफदेहीताबाट कोही पनि मुक्त हुन नहुने धारणा राखे ।

“राज्यका निकाय, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकले आ–आफ्नो तहबाट भ्रष्टाचार न्यूनीकरणमा जिम्मेवारी बोधसहित भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि तत्परता र सक्रियता देखाउन जरुरी छ”, उनले भने, “नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको छ ।”

प्रदेश प्रमुख भट्टले भ्रष्टाचारको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएकाले अनुसन्धानको विषयमा देखिएका नयाँ चुनौतीलाई सामना गर्न आयोग तथा मातहतका कार्यालयहरू सशक्त भई आफ्नो कार्यपद्धतिलाई रचनात्मक बनाउनुपर्नेमा जोड दिए । उनले उपलब्ध साधनस्रोतको सीमामा रहेर उच्चतम प्रविधिको प्रयोग गर्दै राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो सीप, ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरेर व्यवस्थापकीय कार्यकुशलता प्रदर्शन गर्न सक्नुपर्नेमा जोड दिए ।

“भ्रष्टाचार विरुद्धको लडाइ हामी सबैको साझा हो । आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण छ”, उनले भने, “मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेको भन्ने मेरो बुझाइ छ ।”

समारोहमा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव ढण्डुराज घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा आयोगको पोखराका कार्यालयमा कार्यरत इन्जिनियर सौगात थापा र कम्युटर अपरेटर राजुप्रसाद रेग्मीलाई ‘अख्तियार अनुसन्धान सेवा पुरस्कार’ प्रदान गरिएको थियो । रासस