म्याग्दी, २८ माघ । म्याग्दीको सदरमुकाम बेनीको चक्रपथलाई सुरक्षित र व्यवस्थित बनाउन काम थालिएको छ । सहरी विकास तथा भवन आयोजना बागलुङ मार्फत गत असार महिनामा कालीगण्डकी र म्याग्दीको किनारै किनार नौ सय मिटर सडक ढलान भएको थियो । सडकको डिलतर्फ फलामको रेलिङ राखेर सुरक्षित तथा सडक र रेलिङ बीचको खाली भागमा फुटपाथ बनाउन थालिएको बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले बताए ।
“सडकको डिलतर्फ खाली हुने र पैदलयात्रीहरु सडकमै हिड्दा दुर्घटनाको जोखिम बढेकाले सुरक्षित र ब्यवस्थित बनाउन रेलिङ राख्ने र पैदलयात्रीका लागि पुटपाथ बनाउन लागिएको हो,” उनले भने, “बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा फरक फरक शिर्षकमा १८ लाख बिनियोजन गरेको यस योजना मार्फत रेलिङ, फुटपाथ निर्माणका साथै रातको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरेका छौ ।”
चक्रपथबाट मोटरसाइकल सहित कालीगण्डकीमा खसेका एक युवाको शव भेटिएको थियो भने एक जना अझै वेपत्ता छन् । गर्मीयाममा शितलताका साथै अन्यसमय हिडडुल गर्नेहरुको चहलपहलका साथै चक्रपथमा सवारी साधनको चाप पनि बढेको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा चक्रपथ समेटिएको छ ।
वडा नम्बर ८ को सिफारिसमा आठ लाख बिनियोजन भएको यस योजना मार्फत दुई सय मिटर दुरीमा रेलिङ राखिएको छ । फुटपाथ बनाउन थालिएको छ । गत वर्ष वडा नं.–८ को भूगोलमा ८० मिटर रेलिङ राखिएको थियो । वडा नम्बर ७ को सिफारिसमा १० लाख बिनियोजन भएको योजना पनि कार्यान्वयनको चरणमा छ ।
बेनी नगरपालिका–८, कालीपुलदेखि दोभान हुँदै खुलामञ्चको पश्चिमतर्फ बहुउद्देश्यीय मैदान छेउसम्म नौ सय मिटर लम्बाइमा पाँचदेखि छ मिटर चौडाइका दरले ढलान गरिएको सडकमा ‘आइ क्याट’ राखिएको छ ।
नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसिसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनीबजार सुरक्षित हुनुका साथ आकर्षक देखिएको छ । बजारभित्र सवारी साधनको चाप घटाएको छ । नदी किनारको सडकमा साँझ बिहान, पैदलयात्रा गर्न, हिउँदमा घाम ताप्न तथा बर्खामा गर्मी छल्न बजारबासीहरुको चहलपहल बढेको छ ।
बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम बेनीबजार संरक्षणका लागि सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा मार्फत पक्की पर्खाल निर्माण योजना अन्तिम चरणमा पुगेको छ । नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएपछि किनारमा माटो राखेर फिलिङ गरेर सडक बनाइएको थियो । रासस




प्रतिक्रिया