काठमाडौं, २७ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले २१ फागुनको निर्वाचनमा आफ्नो दलको प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा आउने देखिएको दाबी गरेका छन् । उनले नेता तथा कार्यकर्तालाई अझै उत्कृष्ट नतिजा ल्याउनेगरि काम गर्न निर्देशन दिए ।
आज (बुधबार) पोखरामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यो निर्वाचनमा कांग्रेस, एमाले र रास्वपासँग नै आफ्नो दलको प्रतिष्पर्धा हुने सुनाए । रास्वपालाई लक्ष्य गरेर दाहालले नयाँ भनिएका राजनीतिक दलहरूले नयाँ ठाउँमा निर्वाचनको केही माहौल देखिएपनि पुराना ठाउँहरूमा त्यो नदेखिएको टिप्पणी गरे ।
उनले भने,‘हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, एमाले र रास्वपाबीच कडा प्रतिष्पर्धा हुँदैछ देशभरीको निर्वाचनमा भन्ने भनाई सबैले स्वीकारेका छन् । मलाई लाग्छ–आउँदो १०, १५ दिनपछि नेपाली कम्युनिष्ट पार्टीले टप्यो, गइसक्यो अगाडि भन्ने वातावरण बन्नेछ भन्ने मेरो विश्वास छ । हामी सबैले मेहनत गर्यौँ भने अहिले त्यो परिस्थिति बन्दैछ ।’
उनले सबभन्दा नयाँ दल पनि नेकपा नै रहेको दाबी गरे । पार्टीको नाम र चुनाव चिन्हपनि नयाँ रहेको भन्दै उनले नेकपा नै अहिलेको सबभन्दा नयाँ दल भएको दाबी गरे । गत कार्तिक १९ गतेमात्रै नेकपाको नाम र चुनाव चिह्न न्वारान गरिएको दाहालको दाबी छ ।




प्रतिक्रिया