काठमाडौं, माघ २९ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुदैछन् । आज समुह बी अन्तर्गत श्रीलंका र ओमानबीच पहिलो खेल हुदैछ । श्रीलंकाको पाल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुने छ । श्रीलंकाले यसअघि पहिलो खेलमा जित हासिल गरेको छ भने ओमानले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।
त्यस्तै आज दोस्रो खेल समुह सी अन्तर्गत नेपाल र इटालीबीच हुदैछ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुने छ । जारी विश्वकपमा नेपाल र इटाली दुवैले आ-आफ्नो पहिलो खेल हारेका छन् ।
पहिलो खेलमा विश्वविजेता बलियो टेष्ट राष्ट्र इंग्ल्याण्डसँग चार रनको झिनो हारको सामना गरेको नेपाल दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ इटालीसँग भिड्न लागेको हो । नेपाल र इटालीले हालसम्म कुनै पनि आधिकारिक टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । नेपाल र इटालीबीच पहिलोपटक हुने खेल दुवै मुलुकका लागि नौलो हुनेछ
त्यस्तै आज तेस्रो खेल समुह ए अन्तर्गत भारत र नामिबियाबीच हुदैछ । भारतको दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा भारतले आफ्नो पहिलो खेल जितेको छ भने नामिबियाले पहिलो खेलमा हार बेहोरेको छ ।




प्रतिक्रिया