सरकार ढलेको १८ महिनापछि बंगलादेशमा नयाँ सरकार चयनका लागि आज मतदान


काठमाडौं, माघ २९ । सन् २०२४ मा भएको भीषण जनविद्रोहका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना सत्ता छाडेर भारत पलायन भएपछि आज बंगलादेशमा आम निर्वाचन भइरहेको छ। बंगलादेशी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार देशभर जारी रहेको मतदान अपराह्न ४ः३० बजेसम्म जारी रहनेछ। नयाँ सरकार चयनका लागि देशका १२ करोड ७७ लाखभन्दा बढी मतदाताहरू चुनावी प्रक्रियामा सहभागी भइरहेका छन्।

सन् २०२४ अगस्ट ५ का दिन सरकारी कर्मचारीका सन्तानलाई दिइने आरक्षणविरुद्ध विद्यार्थीहरूको आन्दोलनले उग्र रूप लिएपछि १५ वर्षदेखि सत्तामा रहेकी शेख हसिना हेलिकप्टर चढेर भारत पलायन भएकी थिइन्। करिब १४ सय जनाको ज्यान जाने गरी भएको सो रक्तपातपूर्ण आन्दोलन र हसिना सरकारको पतनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा गठन गरिएको अन्तरिम सरकारले यो निर्वाचन गराएको हो। ३५० सदस्यीय संसद्‌मा प्रत्यक्ष निर्वाचित हुने ३०० सिटका लागि मतदान भइरहेको छ भने यसपटक पहिलोपटक विदेशमा रहेका बंगलादेशीहरूले पनि हुलाकमार्फत मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

यस पटकको चुनावमा ३ सय सिटका लागि २ हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा झन्डै ५० राजनीतिक दल सहभागी छन् । एक निर्वाचन क्षेत्रमा उम्मेदवारको निधनका कारण मतदान स्थगित गरिएको छ । झन्डै १२ करोड ८० लाख मतदाता दर्ता भएका छन् । जसमध्ये ४९ प्रतिशत महिला भए पनि उम्मेदवारमध्ये केवल ८३ जना मात्र महिला छन् ।

पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीमाथी प्रतिबन्धित रहेकाले जारी निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी र इस्लामवादी जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।