हिमाली जिल्लाको चुनावी अवस्था बुझ्न सोलुखुम्बुमा प्रधानमन्त्री कार्की


काठमाडौं, माघ २९ । प्रधानमन्त्री सुशीला कार्की आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे स्थलगत भ्रमणका लागि आज सोलुखम्बु पुगेकी छन् । उनी आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नेपाली सेनाको हेलिकोप्टर अगुस्टा एनए ०५८ चढेर सोलुखुम्बु पुगेकी हुन् ।

नाम्चेमा अवतरण भएको प्रधानमन्त्री कार्कीसहितको टोली अहिले सदरमुकाम सल्लेरी पुगेको छ । प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी र सुरक्षा अंगका जिल्ला प्रमुखहरुले स्वागत गर्दै जिल्लाको अवस्थाबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले भ्रमणका क्रममा सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, पाँचथर र सुनसरी जिल्लाका सुरक्षा संयन्त्रसँग छलफल गर्ने कार्यक्रम छ। प्रधानमन्त्री कार्की आज इटहरीमा बसेर भोलि मात्रै काठमाडौं फर्कने जनाइएको छ ।