काठमाडौं, २९ माघ । संयुक्त जनआन्दोलन समितिले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि भोलि फागुन १ गते काठमाडौं विमानस्थलमा आउनको लागि आम नागरिकलाई आह्वान गरेको छ ।
समितिका संयोजक नवराज सुवेदीले आज एक आह्वानपत्र सार्वजनिक गर्दै राष्ट्रलाई माया गर्ने, शान्ति, सुव्यवस्था चाहने आम नागरिकलाई पूर्वराजाको स्वागतको लागि काठमाडौं एयरपोर्टमा पुगेर भव्य स्वागत गर्न भनेका छन् । जारी विज्ञप्तिमा भनिएको छ,‘यही राष्ट्रिय आवश्यकता अभियानको रुपमा अघि बढ्नुपर्दछ, सबै मिलेर देश बचाउन र बनाउन निषेधको राजनीति अन्त्य हुनुपर्दछ भन्ने नागरिक तहमा आम सहमति छ । मूलतः राष्ट्रिय एकताको प्रतीक राजसंस्थाबिना देश र जनताले खोजेको स्थायी निदान प्राप्त हुन सक्दैन भन्ने एकमत छ ।’
भ्रष्टाचारको अन्त्य र सुशासन वहाली नवयुवा पुस्ताको चाहना र मागमात्र नभएर विद्यमान संकट समाधानका महत्वपूर्ण आधार भएको कुरा उल्लेख गरिएको छ । उनले भनेका छन्,‘देशले खोजेको समाधान र राष्ट्र, राष्ट्रियतासँग जोडिएको गम्भीर सवालहरु सतही हस्तक्षेपबाट मात्र प्राप्त हुन सक्दैन । निषेधको निरन्तरताले राज्यको केन्द्रमा कायम रित्तता पूर्ति गर्न सक्दैन । यसर्थ पृथ्वीपथ राष्ट्रको जग भन्ने यथार्थता आत्मसात गर्दै सर्वपक्षीय सम्वाद र सहमतिको आधारमा दीर्घ समाधान खोज्नुभन्दा बाहेक अरु विकल्प हामीसँग छैन् ।’





प्रतिक्रिया