दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको महत्वपूर्ण भूमिका छ : प्रहरी महानिरीक्षक


काठमाडौँ, २९ माघ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रतिष्ठानले खेलेको भूमिका सराहनीय छ भने ।

उनले नेपाल प्रहरीले विभिन्न कालखण्डमा सामना गरेका सुरक्षा चुनौती, राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण र प्रशासनिक सुधारका हरेक चरणमा प्रतिष्ठानले समयानुकूल दक्ष, सक्षम, गुणस्तरीय तथा अनुशासित जनशक्ति उत्पादनमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनको आधारशीला भनेकै अनुशासन र तालिम रहेको र त्यो आधारशिलालाई मजबुत बनाउन प्रतिष्ठानले विगत सात दशकदेखि दिँदै आएको योगदान स्मरणीय रहेको बताए ।

उनले बदलिँदो सुरक्षा चुनौती, प्रविधिको तीव्र विकासलगायतमा आएको परिवर्तन र अपराधका नयाँ–नयाँ स्वरूपलाई मध्यनजर गर्दै प्रतिष्ठानले तालिम प्रणाली र तालिम प्रदान गर्ने शैलीमा गर्दै आएको समय सापेक्ष परिमार्जनको प्रयास सराहनीय रहेको बताए ।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी तालिमको प्रभावकारिता अभिवृद्धिसँगै प्रहरी सेवाप्रति जनविश्वास बढाउन पनि गुणस्तरीय तालिम अपरिहार्य रहेको उल्लेख गर्दै अनुशासन र सेवाभावलाई प्रहरीको उदाहरणीय पहिचान बनाउनेकार्यमा प्रतिष्ठानको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहले प्रतिष्ठानको गरीमा, विशिष्टता र व्यावसायिकतालाई अक्षुण्य राख्न प्रतिष्ठान परिवार सदैव कटिबद्ध रहेको बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रहरीको प्रशिक्षणलगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने अवकाश प्राप्त प्रहरी निरीक्षक ठागाप्रसाद चौधरीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरे ।

उनले प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा सञ्चालन गरी दक्ष एवम् व्यावसायिक जनशक्ति उत्पादन गर्नमा उल्लेखनीय योगदान पु¥याई सर्वोत्कृष्ट तालिम केन्द्र बन्न सफल नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापालाई सर्वोत्कृष्ट तालिम केन्द्रको रनिङ शिल्ड सहित प्रशंसापत्र प्रदान गरे ।

सो अवसरमा उनले प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा–२०८२’को लोकार्पण गरेका थिए । रासस