काठमाडौँ, २९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले आज कोसी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएकी छिन् ।
सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुगेपछि प्रधानमन्त्री कार्कीले समग्र कोसी प्रदेशको अवस्थाका बारेमा छलफल गरेकी छन्।
कोसी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायब महानिरीक्षक विनोद घिमिरेका साथै विभिन्न जिल्लका मुख्य निर्वाचन अधिकृतहरु, नेपाली सेना, सशस्त्र प्रहरीका, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु, प्रमुख जिल्ला अधिकारीहरुको पनि उपस्थिति थियो।
कार्यक्रममा नेपाली सेनाका पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोसी प्रदेशको सुरक्षा अवस्था र निर्वाचनलक्षित योजनाका विषयमा प्रस्तुतीकरण दिएका थिए।
प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि भएको तयारीको प्रशंसा गर्दै आउँदा दिनमा पनि सबै निकायबीच समन्वयका साथ अघि बढ्न र चुस्त दुरुस्त व्यवस्थापन गर्न निर्देशन दिइन् । “छोटो समयमा तपाईँहरुले राम्रो काम गर्नुभएको छ। यो सबैको समन्वयात्मक र एकीकृत प्रयासको प्रतिफल हो। मैले आज जे जति जानकारी पाएँ र आफ्नै आँखाले पनि देखेपछि लाग्यो कि अब जनताले मत हाल्न मात्र बाँकी छ। बाँकी सारा तयारी सकियो। आउँदा दिनमा पनि सबै सुरक्षा निकायबीच यस्तै एकताबद्ध र समन्वयात्मक रुपमा अघि बढ्नुहोस्। यसको प्रतिफल राम्रो आउनेछ र देशले पनि निकास पाउनेछ”, प्रधानमन्त्री कार्कीले भनिन्।
साथै उनले कुनै तत्त्वले निर्वाचनको वातावरण बिगार्न खोजेमा तत्कालै त्यस्ता तत्त्वलाई निरुत्साहित गर्न पनि निर्देशन दिइन्। उनले भनिन्, “सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि कसैले वातावरण बिगार्न खोज्लान्। त्यस्ता तत्त्वलाई पहिचान गरी तत्काल निरुत्साहित गर्नुहोस्। यसमा कुनै सम्झौता नगर्नुहोस्। यतिखेर देशले निकास पाउनका लागि निर्वाचनभन्दा ठूलो कुरा अर्को कुनै छैन।”
यसअघि आजै प्रधानमन्त्री कार्कीले सोलुखुम्बुका नाम्चे र सल्लेरी तथा भोजपुर सदरमुकाममा पनि निर्वाचनको तयारी र वस्तुस्थितिको बारेमा जानकारी लिएकी थिइन्।आज प्रधानमन्त्री कार्की सुनसरीको इटहरीमै बसेकी छिन्।
भ्रमण टोलीमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल, प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ लगायत छन्।कोसी प्रदेशका १४ जिल्लामा २८ निर्वाचन क्षेत्रका लागि निर्वाचन हुँदै छ ।
कोसी प्रदेशमा निर्वाचनका लागि ५१ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिँदै छ ।
तस्बिरः अशोककुमार बस्नेतरप्रधानमन्त्रीको सचिवालय






प्रतिक्रिया