काठमाडौं, फागुन १ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रमा आएको संकट समाधानका लागि निम्ति सबै राष्ट्रिय शक्ति एक हुनुपर्ने बताएका छन्।
३०औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले फागुन २१ को चुनावबाट सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रा सुरू गर्न अपरिहार्य रहेको पनि बताएका हुन् ।
रुकुममा रहेका प्रचण्डले समाजिक सञ्जाल फेसबुकबाट एक भिडियो संदेश जारी गर्दै भनेका छन, ‘हामी सहिदका सपना पूरा गर्ने, रुकुम, रोल्पा जस्ता केन्द्रीय आधार इलाकाले खेलेको भूमिकालाई फेरि एकचोटि देशभरि स्थापित गर्ने जिम्मेवारी पूरा गर्नु छ। म त्यही उद्देश्यका साथ र एउटा नयाँ समाजवादी अभियान अगाडि बढाउने संकल्पका साथ रुकुम आएको छु ।’
उनले अगाडी भनेका छन, ‘जेन–जी आन्दोलन र त्यसपछिको विध्वंस जे भयो, त्यसले राष्ट्र निकै अप्ठ्यारोमा छ। त्यस्तो परिस्थितिमा हामी यो जनयुद्ध दिवस मनाउँदै छौँ। मेरो लागि एकातिर गर्वको कुरा र एकातिर निकै ठूलो जिम्मेवारीको कुरा भएको छ कि म यो जनयुद्ध दिवसमा रुकुमपूर्व आएर मनाउँदै छु र रुकुम पूर्वको प्रत्यक्षतर्फको उम्मेदवारको हैसियतले पनि मैले आज यो दिवस मनाउँदै छु।’
विसं २०५२ फागुन १ गते तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध दश वर्षसम्म चलेको थियो । जनयुद्धका प्रमुख नेता प्रचण्ड आज पहिलोपटक रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउन पुगेका छन। रुकुमपूर्व जनयुद्धको उपलब्धि सङ्घीयतापछि बनेको कान्छो जिल्ला हो । सङ्घीयताले जन्माएको रुकुमपूर्वबाट उनी प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।
भूमे गाउँपालिका–२ खाबाङ बगरमा आज आयोजना हुने जनयुद्ध दिवसमा नेकपाका संयोजक प्रचण्डले सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । रुकुमपूर्वमा २५२ जना सहिद छन् ।




प्रतिक्रिया