काठमाडौं, १ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं फर्किएलगत्तै चुनावी घोषणापत्रलाई अन्तिम रूप दिन व्यस्त भएका छन् । चुनावी अभियानमा एक साता झापा बसेर हिजोमात्रै फर्किएका ओली आज विहानैबाट घोषणापत्रलाई अन्तिम रुप दिन सक्रिय भएका हुन् ।
एमालेले यसअघि नै घोषणापत्रमा समेट्नुपर्ने विषयबारे पार्टीका नेता तथा कार्यकर्ताहरुसँग सुझाव मागेको थियो । सोहीअनुसार घोषणापत्र तयार पारिएको जनाईएको छ । तर, अध्यक्ष ओलीले उक्त घोषणापत्रको अध्ययन गरिरहेकोले सोहीअनुसार सम्पादन गरिने जनाईएको छ ।
निर्वाचन आयोगले भने यही फागुन ३ गतेभित्रै घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाउन भनेको छ । नेपाली कम्युनिष्ट पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ । जसपा नेपालले आजै सार्वजनिक गर्ने तय भएको छ । आम जनता पार्टीले पनि आजै सार्वजनिक गर्ने भएको छ । नेपाली कांग्रेसले पनि चुनावी वाचापत्र लगभग तयार पारेको बताईन्छ । सभापति गगन थापा काठमाडौं फर्किएलगत्तै घोषणापत्र सार्वजनिक गरिने भनिएको छ ।




प्रतिक्रिया