काठमाडौँ, १ फागुन । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गरेर मतदातालाई सचेत बनाउन आमसञ्चारमाध्यम र पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
निर्वाचन आयोगले आज यहाँ आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार विषयक कार्यशाला गोष्ठी एवं मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा उनले मतदातालाई सचेत बनाउन गरिएका विभिन्न कार्यक्रममध्ये यो पनि एक महत्त्वपूर्ण रहेको बताए । निर्वाचनसम्बन्धी सत्य, तथ्य समाचार सम्प्रेषण गर्न कार्यक्रमले सहयोग गर्ने उनले व्यक्त गरे ।
आयोगले यसअघि बनाएको कार्यतालिकाअघि निर्वाचन सामग्री आयोगमा आएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए । निर्वाचन सामग्री जिल्ला–जिल्लामा जान थालिसकेकाले मतदान अधिकृतले तालिम लिनुअघि निर्वाचन सामग्री बुझेर जाने वातावरण यसबाट बनेको उनले उल्लेख गरे ।
“अहिले निर्वाचनको सङ्लो र स्वच्छ वातावरण बनेको छ, यसलाई धमिलो बनाउने काम कसैले पनि गर्नु हुँदैन । मुलुकलाई अप्ठ्यारो अवस्थाबाट चलायमान बनाउने माध्यम पनि निर्वाचन हो । फागुन ४ गतेपछि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्ने समय तोकिएकाले निर्वाचन आचारसंहिता उल्लङ्घन धेरै हुनसक्ने समय पनि यही हो, त्यसैले यो बेला आमसञ्चारमाध्यम र पत्रकार पनि सचेत हुनुपर्छ”, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने ।
राष्ट्रिय वा अन्तरराष्ट्रिय पर्यवेक्षकले नकारात्मक सोच राखेर काम गरे भने त्यससम्बन्धी समाचार सम्प्रेषण गरेर खबरदारी गर्न पनि उनले अनुरोध गरे । यो वर्ष निर्वाचनको ठिकअघि साढे नौ लाख मतदाता थपिएका प्रसङ्ग उल्लेख गर्दै उनले विगतका निर्वाचनअघि यतिको सङ्ख्यामा मतदाता थपिएको इतिहास नभएको जानकारी दिए ।
आयोगका सचिव कृष्णबहादुर राउतले लोकतन्त्र र निर्वाचन एकअर्काका पूरक भएकाले आममतदातालाई निष्पक्ष, तटस्थ सूचना प्रवाह गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने विश्वास गरिएको बताए । निर्वाचनका समयमा हुने विभिन्न किसिमका बहसलाई प्रभावित गर्ने माध्यम पनि आमसञ्चारमाध्यम भएकाले ‘वाचडग’को भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।
निर्वाचनका विषयमा हुनसक्ने नकारात्मकता घटाएर विश्वसनीय रूपमा निर्वाचन सम्पन्न गराउन आमसञ्चारमाध्यम र पत्रकारले भूमिका खेल्नुपर्ने सचिव राउतको भनाइ छ । सही सूचना नपाउँदा आममानिस भ्रम र गुमराहमा पर्ने भएकाले आमसञ्चारमाध्यम एवं पत्रकारले सकारात्मक भएर काम गर्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले उन्नत लोकतन्त्रका लागि उन्नत निर्वाचन प्रणाली आवश्यक पर्ने भएकाले मतदातालाई मतदान केन्द्रसम्म ल्याउने वातावरण बनाउन आमसञ्चारमाध्यम र पत्रकारको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे । निर्वाचन सम्पन्न गरी मतगणना गरेर परिणाम सार्वजनिक नभएसम्म सञ्चारमाध्यम र पत्रकारले यसलाई पछ्याउनुपर्ने उनले बताए ।
बहुदलीय लोकतान्त्रिक शासन व्यवस्थामा पत्रकारसँग राजनीतिक विचार भए पनि निर्वाचनका बेला दलगत रूपमा प्रस्तुत नभई निर्वाचनलाई स्वच्छ बनाउन भूमिका खेल्नुपर्ने अध्यक्ष झाको भनाइ छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्यले पत्रकारले समाचार लेख्ने बेलामा जसका विषयमा समाचार लेखिँदैछ, ती मानिसको स्थानमा बसेर चिन्तन गरे पत्रकारिता क्षेत्रमा आउने धेरै समस्या समाधान भएर जाने विश्वास व्यक्त गरे ।
परिस्थिति बदलिँदा पनि अन्य क्षेत्रजस्तै पत्रकारिता क्षेत्रको पनि मनस्थिति नबदलिएकाले यस क्षेत्रमा केही समस्या रहेको उनको विचार थियो । सामाजिक सञ्जालले धेरै बिगार्दैछ भन्ने थाहा हुँदाहुँदै सुधारका काम नभएको अध्यक्ष आचार्यले बताए । दृश्य बदल्न दृष्टिकोण बदल्नुपर्नेमा उनले जोड दिए ।
आयोगका निर्वाचन व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्रकुमार केसीले निर्वाचनमा मत खसाल्न जाने मतदाताको सङ्ख्या वृद्धि गर्न यो कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे । पत्रकारले आमसञ्चारमाध्यमबाट पठाउने समाचारले विगत निर्वाचनको तुलनामा सदर मत सङ्ख्या बढाउने उनले बताए । यस्ता कार्यक्रमबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना एवं समाचार घटाउने आशा गरिएको उनले उल्लेख गरे । रासस




प्रतिक्रिया