जसपा नेपालले औंल्यायो संविधान संशोधनको आवश्यकता, उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन हुनुपर्ने


काठमाडौं, १ फागुन । जनता समाजवादी पार्टी नेपालले संविधान संशोधन, परिमार्जन तथा पूनर्लेखनको आवश्यकता औंल्याएको छ । आज सार्वजनिक गरिएको घोषणापत्रमा संविधान संशोधनको आवश्यकता औंल्याईएको हो । नेपालको संविधान मूलतः नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले बहुमतको दम्भमा जारी गरेको दस्तावेज भएको उसको ठहर छ ।

संविधान जारी गर्दाको बखत सिँगो देश दुई कित्तामा विभाजित भएको स्मरण गराउँदै जसपा नेपालले भनेको छ,‘यस संविधानमा प्रमुख दलहरूले पहिचान र सामथ्र्यका आधारमा राज्य पुनर्संरचना गर्ने आफैँले घोषणा गरेका तथा पहिलो संविधानसभाले पारित गरेका राज्य पुनर्संरचना लगायत महत्त्वपूर्ण प्रावधानहरूलाई उल्ट्याईएको छ । उनीहरूले संविधानसभाको निर्वाचनमा जनताका बीच मत माग्दा पहिचान र सामथ्र्यका आधारमा राज्यको पुनर्संरचना गर्ने प्रतिबद्धतासहित घोषणा–पत्र जारी गरेका थिए । तर, तीनवटै प्रमुख दलहरू मिलेर आफ्नै घोषणा–पत्रको विपरीत हुने गरी संविधान जारी गरे ।’

वर्तमान संविधानले मुलुकको संघीय संरचना, विविधता, सामाजिक न्याय, समावेशी तथा सामाजिक लोकतन्त्रको आधारभूत मान्यताहरूलाई आत्मसात् गर्न नसकेको उसको ठम्याई छ । वर्तमान संविधानले केवल प्रशासनिक संघीयताको पक्षपोषण गरेको पनि उसको दाबी छ ।

घोषणापत्रमा भनिएको छ,‘यसैले मुलुकको विद्यमान शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीलाई यथावत् राखेर संघीय समाजवादी व्यवस्थाको आधारशिला खडा हुन सक्दैन। त्यसैले, शासकीय स्वरूपमा परिवर्तन, राष्ट्रिय पहिचानमा आधारित संघीयता र प्रादेशिक संरचनाको निर्माण, न्याय प्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्न, संवैधानिक निकायहरूलाई बलियो बनाउन, जनलोकपाल जस्ता निकायहरूको गठन गर्न, उत्पीडित समुदायको हक, अधिकार र पहिचानलाई सुनिश्चित गर्न, नागरिकतामा विद्यमान लैङ्गिक विभेद अन्त्य गर्न, धर्मनिरपेक्षताको व्याख्यालाई सुस्पष्ट पार्न, समावेशी लोकतन्त्रका आधारभूत पक्षहरू जस्तै– राजनीतिक लोकतन्त्र, आर्थिक लोकतन्त्र, सामाजिक लोकतन्त्र, समावेशी लोकतन्त्र तथा साँस्कृतिक लोकतन्त्रलाई संस्थागत गर्ने लगायतका विषयहरूमा संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गरी उक्त आयोगको सुझावको आधारमा संविधान संशोधन/परिमार्जन तथा पुनर्लेखन गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट धारणा जसपा, नेपालको रहेको छ।’