संयुक्त राष्ट्रसङ्घ, २ फागुन । सुडानको कोर्डोफान क्षेत्रमा पछिल्ला दिनहरूमा ड्रोन आक्रमण तीव्र रूपमा बढेका छन् । ती आक्रमणले व्यापारिक सवारी साधन, सञ्चार सञ्जाल तथा यातायात मार्गमा अवरोध पु¥याएको छ, जसका कारण मानवीय सहायता वितरण प्रभावित भएको बताइएको छ ।
यसैगरी दक्षिण कोर्डोफानको राजधानी काडुग्ली तथा आसपासका क्षेत्रमा स्वास्थ्य केन्द्र लक्षित आक्रमण हुँदा कम्तीमा चार स्वास्थ्यकर्मीको मृत्यु भएको र २० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी दिइएको छ । यसले पहिले नै कमजोर अवस्थामा रहेको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब सिर्जना गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार उत्तर कोर्डोफानमा करिब ८०० भन्दा बढी व्यक्ति सुरक्षित स्थानतर्फ सरेका छन् भने अन्य क्षेत्रमा हजारौँ मानिस विस्थापित भएका छन् । विस्थापितहरूलाई आश्रय, खाद्यान्न, स्वच्छ पानी, स्वास्थ्य सेवा तथा सुरक्षाको तत्काल आवश्यकता रहेको उल्लेख गरिएको छ ।
मानवीय सहायता छिटो, सुरक्षित र अवरोधरहित रूपमा उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ । रासस




प्रतिक्रिया