काठमाडौं, २ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–१ बाट प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि काठमाडौं एयरपोर्टमा उर्लिएको मासले धेरैको मन परिवर्तन भएको दाबी गरेका छन् । उनले भने,‘आजपनि जुन मास उत्रियो, त्यो मास देख्दापनि पूराना पार्टीहरु नवीन समझदारीमा जान तयार भएनन्, भोलि यी पूरानै पार्टीहरुको अस्तित्वमा संकट आउँछ । जनमत बदलिएको छ र नवीन समझदारीमा जाने समय आएको छ भनेर उहाँहरुले बुझ्नुपर्छ ।’
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा मिश्रले पूर्वराजा शाह पोखराबाट काठमाडौं फर्किएको समयभन्दा हिजो झापाबाट काठमाडौं फर्किँदा ठूलो जनसमर्थन देखिएको दाबी गरे ।
उनले भदौ २३ र भदौ २४ गतेअघिसम्म राजसंस्थाको बारेमा तित्ततापूर्ण टिप्पणी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालहरुले त्यसयता त्यस्तो टिप्पणी नगरेको उनको दाबी छ । अहिले सबैमा राजसंस्था चाहिने रहेछ भन्ने भावना बढेर गाएको पनि मिश्रको दाबी छ ।
उनले भने,‘यो भावना किन बढेको छ भने भदौ २३ र भदौ २४ गते भनेको नेपालमात्रै होईन संसारमै विरलै घट्ने घटना हो । २४ गतेको दिनमा ६ घण्टाको बीचमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका ह्वारह्वारी बल्यो । देशको अभिभावकत्व सेनापतिले गरिदिनुपर्यो । भोलि पनि भदौ २३ गतेजस्तो नभएपनि अर्को प्रकृतिको गम्भीर संकट आउँछ ।’ उनले सबैभन्दा स्पष्ट वैचारिक नीति भएको पार्टी नै राप्रपा भएकोले आफूहरु अग्रगामी भएको उनको दाबी छ ।
उनले अरू दल पश्चगामी दल रहेको टिप्पणी गरे । यो पटकको निर्वाचनमा आफ्नो जित सुनिश्चित् रहेको मिश्रको ठोकुवा छ । उनले भने,‘यो पटक म जित्छु भन्नेमा सय प्रतिशत होईन, दुई सय प्रतिशत विश्वस्त छु ।’




प्रतिक्रिया