अब आगो लगाउनेहरू हार्नेछन, गणतन्त्र र परिवर्तन ल्याउनेहरु जित्नेछन् : प्रचण्ड


रुकुम पूर्व, २ फागुन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन् । रुकुम पूर्वको चुनबाङमा शनिबार अपराह्न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बङ्गलादेशमा हालै सम्पन्न निर्वाचन परिणाबारे टिप्पणी समेत गरे।

उनले भने,“सिंहदरबार, संसद् भवन जले। सर्वोच्च अदालत जल्यो। निजी सम्पत्ति जले, व्यक्तिका घर जले। अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्, गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन्।” दाहालले हालै सम्पन्न बङ्गलादेशको निर्वाचनबाट सिक्नुपर्ने आवश्यकता औँल्याए।

उनले भने,“बङ्गलादेशमा पनि आगो लगाइयो। चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर उनीहरू हारे। नजलाउने र स्थिरता चाहनेहरू जिते, सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएका भनिएका व्यक्तिहरू तेस्रो भए। यहाँ पनि हल्लाखोरहरूको हिसाब जनताले गरेर बसेका छन्।”

संयोजक प्रचण्डले आगजनी, कुशासन, दमन र हिंसा मच्चाउनेहरूलाई रोल्पा–रुकुमका जनताले राम्ररी बुझेको बताए। “तपाईंहरूले बुझ्नुभएको छ, अब देशभरिका जनताले पनि बुझ्नेछन्,” उनले भने ।

उनले रुकुम पूर्वलाई विकासको नयाँ मोडेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने,“भरतपुर मोडेल तपाईंहरूले देख्नुभएकै छ। अब विकासको नयाँ मोडेल र समाजवादको नयाँ मोडेल विकास गर्नेछौँ ।”

तस्विर स्रोत : प्रचण्डको सचिवालय