वरिष्ठ नेता विश्वबन्धु थापाको निधन


काठमाडौं, फागुन ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता विश्वबन्धु थापाको निधन भएको छ । नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय राजनीतिज्ञ थापाको शनिबार साँझ निधन भएको छ। उनी ९८ वर्षका थिए।

परिवारका अनुसार थापाको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म काठमाडौंको गैह्रीधारास्थित निजी निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। श्रद्धाञ्जली कार्यक्रमपछि पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने परिवारले जनाएको छ।

थापाको निधनप्रति राजनीतिक दलका नेताहरू, शुभेच्छुक तथा समर्थकहरूले दुःख व्यक्त गरेका छन्। नेपाली राजनीतिमा उनको योगदान, वैचारिक अडान र स्पष्ट अभिव्यक्तिका कारण उनी विशिष्ट पहिचान बनाएका नेता मानिन्थे।

थापा तत्कालीन राजा महेन्द्रले वि।सं २०१७ साल पुस १ मा जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री भएका थिए । थापा भीमसेन थापाका पाँचौँ पुस्ताका सदस्यसमेत हुन्।