काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले निरन्तर रुपमा जनताको भरोसा जित्दै आएको दाबी गरेका छन् । अहिलेपनि नेपाली जनताले कांग्रेसलाई नै चुन्ने र कांग्रेसले यो निर्वाचनमा अत्यधिक सिट जित्ने दाबी गरेका छन् । आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले अहिले कांग्रेस एकीकृत भएर लडिरहेको पनि विश्वास दिलाए । उनले भने,‘आज देश एउटा अन्यौल र तरल अवस्थामा छ । लोकतान्त्रिक मूल्य र मान्यतालाई जोगाउनुछ । यो राष्ट्रलाई बलियो बनाउनुपर्छ । पार्टी जीवनमा अनेक उतारचढाव आउँछ, तर अहिले यो बहसको विषय होईन । आजको विषय के हो भने आम निर्वाचनमा पार्टी एक भएर जान्छ । पार्टीभित्रको विषय पार्टीभित्रै छलफल हुँदै जान्छ, त्यसको समाधान पनि हुन्छ । आज हामी कसरी बहुमत ल्याउने भन्नेमा केन्द्रित छौं । नुवाकोटमा दुवै सिट जित्छौं । देशभरि नै नेपाली कांग्रेसको पक्षमा माहोल देखिएको छ ।’
पूराना दलहरुमध्ये पनि नेपाली कांग्रेस नै विश्वासिलो र भरपर्दो पार्टी हो भनेर जनताले विश्वास गरेको महतको भनाई छ । अहिले पनि कांग्रेस पहिलो दल हुने उनको दाबी छ । उनले भने,‘अहिले हामी बढि भन्दा बढि सिट र जनताको मत पाउने कुरामा विश्वस्त छौं ।’




प्रतिक्रिया