काठमाडौं, फागुन ४ । भारत आईसीसी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । आइतबार बेलुकी भएको खेलमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको हो ।
कोलम्बोमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । भारतको लागि इशान किशानले अर्धसतक बनाए । उनले ४० बलमा १० चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ७७ रन बनाए । यस्तै कप्तान सुर्यकुमार यादवले ३२, शिभम डुबेले २७, तिलक बर्माले २५ र रिंकु सिंहले नटआउट ११ रन बनाए ।
पाकिस्तानको लागि सैम अयुबले ४ ओभरमा २५ रन दिएर तीन विकेट लिँदा सलमान अघा, शाहिन शाह अफ्रिदी र उस्मान तारिकले समान एक/एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै १ सय १४ रनमात्र बनाउन सक्यो । पाकिस्तानको लागि उस्मान खानले सर्वाधिक ४४ रन बनाउँदा शाहिन शाह अफ्रिदीले २३, शदाब खानले १४ र फाहिम अश्राफले १० रन बनाए ।
पाकिस्तानलाई सस्तैमा समेट्न हार्दिक पान्ड्य, जस्प्रित बुम्रा, अक्सर पटेल र बरुण चक्रभर्तीले समान दुई/दुई विकेट लिँदा कुलदिप यादव र तिलक बर्माको नाममा एक/एक विकेट रह्यो । जितसँगै भारत तीन खेलबाट ६ अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ४ अंक जोडेको पाकिस्तान तेस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया