राष्ट्रिय सभाका नयाँ सदस्यको शपथ निर्वाचनपछि


काठमाडौं, फागुन ४ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ प्रतिनिधि सभा सदस्य निर्वाचनपछि मात्रै हुने भएको छ । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन फागुन २१ गते हुँदै छ । सोही मितिदेखि राष्ट्रिय सभाका नवनिर्वाचित १८ सदस्यको कार्यकालसमेत सुरु हुने छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नवनिर्वाचित सदस्यको शपथ प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि मात्रै हुने जानकारी दिए । उनले भने, “१९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिने छ । नवनिर्वाचित सदस्यको कार्यकाल फागुन २१ गतेदेखि सुरु हुने छ तर सोही दिन निर्वाचनको मिति जुधेकाले निर्वाचनपछि मात्रै शपथग्रहण हुने तयारी छ ।”

नवनिर्वाचित सदस्यको शपथ फागुन २१ गतेपछि हुने भए पनि कार्यकाल फागुन २१ देखि नै गणना हुने छ । राष्ट्रिय सभाका उपाध्यक्षसहित कार्यकाल सकिएका १८ सदस्यमध्ये तीन जना विषयगत समितिका सभापति पनि हुनुहुन्छ । राष्ट्रिय सभामा थप दुई जना सदस्यको पद रिक्त छ । राष्ट्रपतिबाट मनोनीत हुने एक र नेपाली कांग्रेसबाट निर्वाचित सभाका सदस्य बलदेव बोहोराको निधनपछि दुई पद रिक्त छन् ।

सभाका उपाध्यक्ष विमला घिमिरेको यसै फागुन २० गते कार्यकाल सकिने हुँदा उपाध्यक्ष पद पनि रिक्त हुने छ । त्यसै गरी राष्ट्रिय सभा अन्तर्गतका तीन वटा विषयगत समितिका सभापतिको समेत कार्यकाल सकिँदै छ । यसरी सभाका उपाध्यक्षसहित तीन वटा विषयगत समितिको सभापतिको निर्वाचन गर्नुपर्ने छ । अधिवेशन चालु रहेको अवस्थामा पद रिक्त भएको १५ दिनभित्र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।