एकबहादुर क्षेत्रीका “पैसाको बिलौना” र “नोट खारेज गर सरकार” दुई चेतनामूलक गीत सार्वजनिक


काठमाडौं, ४ फागुन । समसामयिक सामाजिक तथा आर्थिक विषयवस्तुमा आधारित दुई सशक्त चेतनामूलक गीत “पैसाको बिलौना” र “नोट खारेज गर सरकार” नेपाली सांगीतिक बजारमा सार्वजनिक भएका छन्। वर्तमान आर्थिक अवस्थाप्रति गम्भीर प्रश्न उठाउँदै समाजलाई सचेत गराउने उद्देश्यका साथ यी गीतहरू सार्वजनिक गरिएको जनाइएको छ।

“पैसाको बिलौना” गीतले “सधैं हामी पैसाको लागि बिलौना गर्छौं, तर जब अति हुन्छ, पैसाले नै बिलौना गर्न थाल्छ” भन्ने गहिरो सन्देश प्रस्तुत गर्दछ। पैसाको असन्तुलित प्रयोग तथा त्यसबाट उत्पन्न सामाजिक विकृतिलाई कलात्मक ढंगले उजागर गरिएको यस गीतका रचनाकार एक बहादुर क्षेत्रीले सशक्त अभिव्यक्ति दिएका छन् ।

गीतमा संगीत संयोजन राजु कार्कीले गरेका छन् भने संगीत तथा स्वर डा. अजित घिमिरेले दिएका छन् । गीतलाई आर्टिफिसियल इन्टेलिजेन्समार्फत नव ढुंगेल ज्यूले प्रस्तुत गर्नुभएको छ भने सम्पादन राजु जंग बस्नेतले गरेका छन् ।

त्यसैगरी, “नोट खारेज गर सरकार” गीतले सरकारलाई जिम्मेवार, पारदर्शी र उत्तरदायी बन्न आग्रह गर्दै आर्थिक बेथिति र भ्रष्टाचारप्रति खबरदारी गरेको छ। विशेषगरी कागजी नोटबाट उत्पन्न हुने विकृति र विसंगतिलाई प्रभावकारी रूपमा चित्रण गरिएको यस गीतका रचनाकार क्षेत्री र अजित घिमिरेले समाजमा फैलिएको आर्थिक अनियमितताको यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गरेका छन् ।

गीतमा संगीत संयोजन उज्ज्वल सागरले गरेका छन् भने संगीत तथा स्वर डा. अजित घिमिरेले दिएका छन् । भिडियोमा मुख्य भूमिकामा वरिष्ठ कलाकार सुरवीर पण्डित “दारी बा” ले अभिनय गरेका छन् भने निर्देशन केशव राज भट्टले गरेका छन्। परियोजना संयोजकको भूमिका युनिश अर्यालले निर्वाह गरेका छन्।

समाजलाई आर्थिक शुद्धता, पारदर्शिता र उत्तरदायित्वतर्फ प्रेरित गर्ने उद्देश्यले तयार पारिएका यी सन्देशमूलक गीतहरूले दर्शक तथा स्रोतामाझ सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। गीतहरूको युट्युब लिंक सार्वजनिक गरिएको छ।