दोलखामा अजयबाबुलाई जिताउन नौ ओटै पालिकामा ‘जेन-जी कमान्डर’ नियुक्त


दोलखा, फागुन ५ । दोलखामा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कांग्रेसले नयाँ पुस्तालाई लक्षित गर्दै ‘जेन-जी’ परिचालन समितिका पालिका संयोजकहरू नियुक्त गरेको छ। नेपाली कांग्रेस जेन-जी परिचालन समिति दोलखाका संयोजक महेन्द्र खड्काले जिल्लाका नौ ओवटै स्थानीय तहमा संगठन सुदृढीकरण र युवाहरूको प्रभावकारी परिचालनका लागि संयोजकहरूको जिम्मेवारी बाँडफाँट गरेका हुन् ।

मंगलबार एक सूचना जारी गर्दै उनले नवनियुक्त संयोजकहरूलाई आ-आफ्नो कार्यक्षेत्रभित्र युवाहरूको संगठन निर्माण, समन्वय र परिचालन गर्दै पार्टीको नीति तथा आदर्शअनुसार सक्रिय रहन निर्देशन दिएका छन् ।

समितिले भीमेश्वर नगरपालिकाको संयोजकमा सुशील रिजाल र जिरी नगरपालिकामा रमेश खड्कालाई जिम्मेवारी सुम्पेको छ। त्यस्तै कालिन्चोक गाउँपालिकामा रामकृष्ण धामी, मेलुङमा मनोज भण्डारी, बैतेश्वरमा प्रशान्त तामाङ र शैलुङमा अम्बर मोक्तानलाई संयोजक तोकिएको छ ।

तामाकोशी गाउँपालिकाको नेतृत्व सौगात खड्काले सम्हाल्नेछन् भने बिगुमा प्रेम दोर्जे शेर्पा र गौरीशंकर गाउँपालिकामा प्रेम तामाङलाई संयोजक नियुक्त गरिएको खड्काले जानकारी दिए ।

यसअघि दोलखाबाट संघीय संसद्का लागि स्वतन्त्र उम्मेदवारी दिएका जेन-जी पुस्ताका अगुवा महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन गरेका थिए । उनकै नेतृत्वमा अहिले जिल्लाभर युवा परिचालनको काम अघि बढाइएको हो ।

अनुभवी र प्रष्ट भिजन भएका व्यक्तिलाई समर्थन गर्दामात्र समाजमा वास्तविक परिवर्तन आउने विश्वासका साथ आफूले उम्मेदवारी स्थगन गरेर शिवाकोटीको चुनावी अभियानमा होमिएको खड्काले बताए ।

उनले आजको समयमा भावनामा बहकिएर भन्दा पनि ठोस नतिजा दिन सक्ने नेतृत्वलाई साथ दिनु आवश्यक रहेकोमा जोड दिएका छन् । शिवाकोटी जस्तो बौद्धिक र जुझारु व्यक्तित्वले संसद्मा दोलखाको आवाजलाई प्रभावशाली ढङ्गले बुलन्द पार्न सक्ने खड्काको ठम्याइ छ ।