काठमाडौँ, ५ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संरक्षणका लागि आउदो प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएको बताएका छन् । मोरंग क्षेत्र नम्बर ६ अन्तर्गत विराटनगर ५ जामुनगाछीमा मंगलबार चुनाव प्रचारप्रसारमा नेता कोइरालाले संसदीय सर्वोच्चताका लागि र स्वतन्त्रताका लागि आफु निर्वाचनमा होमिएको बताएका हुन् ।
आम सर्वसाधारणसंगको भेटमा नेता कोइरालाले संसदमा सर्वोच्चता नहुँदा भोली कांग्रेसपनि कम्युनिष्ट हुने बताए। नेता कोइरालाले भने, “संसदको सर्वोच्चताका लागि मलाई तपाईहरुले संसदमा पठाउनु हुनेछ । संसदमा कांग्रेसको सर्वोच्चता नहुँदा कांग्रेसपनि कम्युनिष्ट हुनेछ । जुन आम विराटनगरवासीले चाहेकाछैनन् । मुलुकको राजनीतिक अवस्था गंभीर छ । त्यसैलेपनि सबैले निर्वाचनलाई गंभीरतापूर्वक लिएर मतदान गर्नुहुने अपेक्षा छ ।”
नेता कोइरालाले नयाँ पार्टीबारे आवश्यक कुरा बुझ्न जरुरी रहेको उल्लेख गरे । पुराना दलहरुप्रति नकारात्मक भाष्य, अफवाह फैलाईएको बताउँदै नेता कोइरालाले भने, “नयाँ पार्टीले पुराना दलका विषयमा फैलाएको अफवाह चिर्न आवश्यक छ । यसप्रति सबै सजग हुनुपर्छ । जेनजी विद्रोहपछि मुलुक थप पछाडि धकेलिएको महसुस भएको छ । सोही आन्दोलनले ०८४ मा हुने निर्वाचनलाई २ वर्षअघि निम्ताएको छ । त्यसैले यो चुनावमात्र नभएर जनमत संग्रह भएर गएको छ ।”
निर्वाचन र मतका विषयमा विदेशमा रहेका परिवारसदस्यले यहाँ घरमा रहेका आमाबुवाको अवस्था नबुझी अमुक पार्टीलाई सहयोग गर्न उक्साइरहेको उनको भनाई छ । उनले भने, “विदेशमा रहनु भएकाहरुलाई यहाँको अवस्था बुझ्न आग्रह गर्छु । घरमा समस्या पर्दा आमाबुवालाई यहाँ हामीले नै सहयोग गर्ने हो । हाम्रै दलका साथीहरु दिनरात खटिनु भएको छ।”
विराटनगरका वडाहरुमा विकास क्रमले गति लिएको उनले बताए । वित्तिय आयोगले विराटनगर महानगरलाई पहिलोस्थानमा पुराएको कुरालाई गर्व गर्नुपर्ने बताउँदै उनले महानगरको विकासको नेतृत्व कांग्रेसले गरेपनि आम नागरिकको सहयोगले पहिलो भएको बताए । उनले भने, “विराटनगरले वित्तिय सुशासन कायम राखेको छ । यसलाई हामीसबै महानगरवासीले गर्व गर्नुपर्छ । काठमाडौंको हकमा हेरौं अन्तिम स्थानमा पुगेको छ । काठमाडौें न सुशासन कायम राख्न सक्यो, न वित्तिय पारदर्शीता, न जनताप्रति जवाफदेहिता ।”
जामुनगाछी हुदै सुनसरीतर्फको हुलाकी सडक निर्माणमा भएको ढिलासुस्तीबारे स्थानीयको चर्को असन्तुष्टि भएपनि त्यसलाई कांग्रेसले नै सम्बोधन गरेको उनले बताए । सडक निर्माणका लागि राज्यले आवश्यक भुक्तानी नदिँदा ठेकेदार बेपत्ता भएपछि ठेकेदार खोजेर सडक बनाएको उनले प्रस्टाए। उनले भने, “यो सडक पुरा गराउन राज्य संरचना नै परिचालन गर्नु परेको थियो । राज्यले ठेकेदारलाई रकम भुक्तानी नदिदाँ समस्या भएको थियो ।”
त्यसैगरि, विराटनगरका विकासमा केशलिया खोला, बुढी खोलामा तटबन्ध नै प्राथमिकतामा रहेको उनले बताए । हरेक वर्ष विराटनगरको पश्चिम क्षेत्र वडा नम्बर ४, ५, ११, १२ डुबान पर्ने गरेको बताउँदै नेता कोइरालाले खोलामा तटबन्ध बनाउन आफूले सक्दो पहल गर्ने बताए ।




प्रतिक्रिया