बृद्धालाई मुक्का हान्ने बम न्यायिक हिरासतमा, ७ दिन थुनामै रहने


काठमाडौं, फागुन ६ । पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालकलाई सात दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । मुक्का प्रहारको भिडियो भाइरल भएपछि मंगलबार पक्राउ परेका ४२ वर्षीय पारस बमलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उनलाई मंगलबार दिउँसो काठमाडौंको भोटाहिटीबाट नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार बमलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको न्यायिक हिरासतमा राखिएको छ ।

प्रहरीका अनुसार यो घटना गत शनिबारको हो । बमले महाराजगञ्ज चप्पल कारखाना नजिकै ती ती व्यक्तिलाई कारबाट झरेर मुक्का प्रहार गरेका थिए । ती व्यक्तिले आफूलाई अपशब्द बोलेको भन्दै मुक्का प्रहार गरेको बमले प्रारम्भिक बयानमा बताएको एसपी भट्टराईले बताए । यसबारे थप अनुसन्धान भैरहेको उनको भनाइ छ ।