पब्लिक डिवेटमा भाग लिएपछि ओलीको प्रतिक्रिया : प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेनौँ


काठमाडौं, ६ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ का उम्मेदवारबीच भएको पब्लिक डिवेटमा भाग लिएको र सबै उम्मेदवारले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरुको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शीता भएको बताएका छन् । चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व भएको उल्लेख गर्दै ओलील्े उम्मेदवारहरु नागरिकभन्दा टाढा रहने, वास्तविक अनुहार छुपाउने र सुटिङ गरेर तयार गरिएका सामाग्री मतदातासम्म पुर्याएर चुनाव अवधिभर झुक्याउने परिपाटीबाट नागरिक ठगिन नहुने बताएका छन् ।

पब्लिक डिवेटमा सहभागी भएकोबारे ओलीले फेशबुकमा लेखेका छन्–

हिजो झापा ( ५ का उम्मेदवारबीच पब्लिक डिबेट कार्यक्रममा सहभागी भएँ। उम्मेदवारहरुले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता हो। चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व हो। उम्मेदवारहरू नागरिक भन्दा टाढा रहने, वास्तविक अनुहार छुपाउने र सुटिङ गरेर तयार गरिएका सामग्री मतदातासम्म पुर्‍याएर चुनाव अवधिभर झुक्याउने परिपाटीबाट नागरिक ठगिनु हुँदैन।

हामीले आफूमाथि उठेका प्रश्नको उत्तर दिँदै आएका छौं । त्यसैले हामीमाथि आलोचना र विरोधहरु पनि सुनिन्छन्। कतिपय प्रश्नमा आत्मालोचना गर्ने र सुधार्ने पनि गरेका छौं। प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेनौँ। पब्लिक डिबेट आयोजना गर्ने आयोजक, त्यसमा भाग लिने उम्मेदवार र सहभागी नागरिक सबैलाई धन्यवाद। म नागरिकहरुको साथमा रहनेछु। प्रश्न सोधौँ, एमाले रोजौं ।