काठमाडौं, फागुन ६ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार बिच हुने सार्वजनिक बहस लोकतन्त्रको पारदर्शिताको अभ्यास भएको बताएका छन्।
उनले हिजो आयोजित झापा–५ का उम्मेदवारहरू बिचको पब्लिक डिबेट कार्यक्रममा सहभागी हुँदै सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतान्त्रिक संस्कृतिको महत्त्वपूर्ण पक्ष भएको धारणा व्यक्त गरेका छन्।
उनका अनुसार चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व भएकाले उम्मेदवार नागरिकबाट टाढा रहने, वास्तविक अनुहार लुकाउने र तयार पारिएका सामग्रीमार्फत मतदातालाई प्रभावित पार्ने प्रवृत्ति उपयुक्त होइन। उनले प्रश्नबाट भाग्ने वा छलेर आफूलाई राम्रो देखाउने राजनीति आफूहरूले नगरेको बताए। ‘हामीले आफूमाथि उठेका प्रश्नहरूको उत्तर दिँदै आएका छौँ, आलोचना र विरोध पनि सुन्दै आएका छौँ,’ उनले भने, ‘कतिपय विषयमा आत्मालोचना गरेर सुधार गर्ने प्रयास पनि गरेका छौँ।’
उनले पब्लिक डिबेट आयोजना गर्ने आयोजक, सहभागी उम्मेदवार तथा उपस्थित नागरिकप्रति आभार व्यक्त गरेका छन्। आगामी दिनमा पनि नागरिकका प्रश्नको जवाफ दिन तयार रहने प्रतिबद्धता व्यक्त गर्दै उनले मतदातालाई सचेत रूपमा निर्णय लिन आग्रह गरे। ‘प्रश्न सोधौँ, एमाले रोजौँ,’ भन्ने सन्देशसहित उनले आफू नागरिकको साथमै रहने बताएका छन्।
उनले लेखेका छन्, हिजो झापा – ५ का उम्मेदवारबीच पब्लिक डिबेट कार्यक्रममा सहभागी भएँ। उम्मेदवारहरुले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता हो। चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व हो। उम्मेदवारहरू नागरिक भन्दा टाढा रहने, वास्तविक अनुहार छुपाउने र सुटिङ गरेर तयार गरिएका सामग्री मतदातासम्म पुर्याएर चुनाव अवधिभर झुक्याउने परिपाटीबाट नागरिक ठगिनु हुँदैन।
हामीले आफूमाथि उठेका प्रश्नको उत्तर दिँदै आएका छौं । त्यसैले हामीमाथि आलोचना र विरोधहरु पनि सुनिन्छन्। कतिपय प्रश्नमा आत्मालोचना गर्ने र सुधार्ने पनि गरेका छौं। प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेनौँ। पब्लिक डिबेट आयोजना गर्ने आयोजक, त्यसमा भाग लिने उम्मेदवार र सहभागी नागरिक सबैलाई धन्यवाद।
म नागरिकहरुको साथमा रहनेछु।
प्रश्न सोधौँ, एमाले रोजौं ।




प्रतिक्रिया