२१ फागुनपछि प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ, झापा–५ मा केपी ओलीले जित्नैपर्छ : वामदेव गौतम (भिडिओ–सहित)


काठमाडौं, ६ फागुन । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले फागुन २१ गतेको निर्वाचनपछि नेकपाको सरकार बन्ने दाबी गरेका छन् । उनले यो निर्वाचनपछि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको प्रधानमन्त्री बन्ने पनि दाबी गरे । हिजो (मंगलबार) प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘अब नेकपाको नेतृत्वमा सरकार बन्छ । मेरा घोषणा कति असफल भएका छन्, कति सफल भएका छन्, म यसपटक भन्छु कि सरकार हामीले बनाउनुपर्छ ।’ अबको प्रधानमन्त्री पार्टीका संयोजक पुष्पकमल दाहाल नै बन्नेपनि गौतमको भनाई छ । उनले भने,‘अब प्रधानमन्त्री प्रचण्ड बन्नुहुन्छ, उहाँ बहुमत पुर्याएर प्रधानमन्त्री बन्नुहुन्छ । हामी त्यो अवस्थामा पुग्छौं, बहुमतमा नपुग्नै अवस्था भएछ भनेपनि बहुमत पुग्छ, हामीसँग अरु धेरै संलग्न हुनसक्छन्, हाम्रो नेता प्रधानमन्त्री बन्नुहुन्छ । अबको प्रधानमन्त्रीले समाजवादको निर्माण गर्छ ।’

उनले रवि लामिछाने र बालेन शाहको पक्षमा लागेको भिड भिडमात्रै हुने र मतमा परिणत नहुने ठोकुवा गरे । सो क्रममा उनले झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्नैपर्ने बताए । उनले अहिले बालेन शाहले ल्याएको जनहरभन्दा ओलीले चाहे त्योभन्दापनि पनि दोब्बर ल्याईदिने बताए ।