माले, ६ फागुन । खर्च घटाउने उद्देश्यका साथ माल्दिभ्सले राष्ट्रपति र संसदीय चुनाव एकै दिनमा सञ्चालन गर्ने सम्भावना परीक्षण गर्न अप्रिलमा राष्ट्रव्यापी जनमतसङ्ग्रह गर्ने निर्णय गरेको एक अधिकारीले बुधबार बताएका छन् ।
राष्ट्रपति मोहम्मद मुइज्जुले अप्रिल ४ का लागि जनमतसङ्ग्रह तोक्नुभएको छ, जसले स्वीकृत भएमा अर्को संसदीय मतदान अगाडि ल्याउनेछ र वर्तमान संसदीय कार्यकाल करिब पाँच महिना छोट्याउनेछ ।
संसदीय चुनाव सन् २०२९ को सुरुमा र राष्ट्रपति चुनाव सेप्टेम्बर २०२८ मा हुने निर्धारित भएको थियो । मुइज्जुका प्रवक्ताले राष्ट्रपतिले सोमबार राति जनमतसङ्ग्रह आदेश जारी गरेको जानकारी दिए । यस प्रक्रिया स्थानीय परिषद्को निर्वाचनसँगै हुनेछ ।
राष्ट्रपति मुइज्जुले दुवै राष्ट्रिय चुनाव एकै दिन सञ्चालन गर्दा हिन्द महासागरको द्वीपसमूहलाई करिब ८० लाख डलर बचत हुने तर्क गरेका छन् । उनको पार्टीको प्रभुत्व रहेको पिपुल्स मजलिसले गत हप्ता संवैधानिक संशोधनमार्फत चुनावी क्यालेन्डर समन्वय गर्न प्रस्ताव पारित गरेको थियो । पूर्वराष्ट्रपति मोहम्मद नाशिदले पनि यो सुधारलाई समर्थन गरेका छन् ।
माल्दिभ्सले वित्तीय दबाब सामना गर्दै सुधारका लागि कदम चालिरहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले गत वर्ष तीव्र गतिमा बढेको पर्यटन उद्योगका बाबजुद अर्थतन्त्र स्थिर बनाउन सुदृढीकरण उपायहरू अपनाउन सुझाएको थियो । सन् २०२४ मा सरकारले आइएमएफको बेलआउट अस्वीकार गर्दै मुइज्जुको तलब आधा गर्ने र व्यापक खर्च कटौती गर्ने योजना घोषणा गरेको थियो ।
करिब तीन लाख ८२ हजार मानिस बसोबास गर्ने माल्दिभ्सले आफ्नो आर्थिक तनाव अस्थायी रहेको जनाएको छ र हाल कुनै बाह्य सहायता लिने योजना नरहेको बताइएको छ । नयाँ कदमले खर्च घटाउने मात्र नभई, चुनाव प्रक्रियामा समन्वय र प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ । रासस




प्रतिक्रिया