मतदाता शिक्षा र निष्पक्ष मतदानको सन्देश दिँदै देशभर आज निर्वाचन दिवस मनाइँदै


काठमाडौं, फागुन ७ । नेपालमा पहिलो पटक आम निर्वाचन सुरु भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर निर्वाचन दिवस मनाइँदै छ । निर्वाचन आयोगले विसं २०१५ साल फागुन ७ गतेबाट सुरु भएको आम निर्वाचनको सम्झनामा यस दिनलाई निर्वाचन दिवसका रूपमा मनाउँदै आएको हो ।

२०१५ सालको आम निर्वाचन नेपालको लोकतान्त्रिक अभ्यासको पहिलो महत्वपूर्ण चरण मानिन्छ । सो निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत अर्थात् ७४ सिट प्राप्त गरेको थियो भने कुल १६ वटा राजनीतिक दलले सहभागिता जनाएका थिए । यही निर्वाचनबाट पहिलो पटक नेपाली नागरिकहरूले सार्वभौम मताधिकार प्रयोग गर्ने अवसर पाएका थिए ।

निर्वाचन दिवसको अवसरमा आयोगको नेतृत्वमा आज देशभर विभिन्न कार्यक्रम, अन्तरक्रिया, जनचेतनामूलक अभियान तथा पैरवी कार्यक्रम सञ्चालन भइरहेका छन् । विशेष गरी मतदाता शिक्षा प्रवद्र्धन, स्वच्छ र निष्पक्ष मतदानको सुनिश्चितता तथा लोकतान्त्रिक अभ्यास सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोगले जनाएको छ ।

नेपालमा निर्वाचन दिवस औपचारिक रूपमा विसं २०७३ सालदेखि मनाउन थालिएको हो। पहिलो निर्वाचन प्रारम्भ भएको दिनलाई लोकतान्त्रिक अभ्यासको ऐतिहासिक मोडका रूपमा स्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइँदै आएको छ । यस वर्षको निर्वाचन दिवस लोकतान्त्रिक अभ्यासप्रति जनचेतना अभिवृद्धि गर्दै नागरिक सहभागिता बढाउने सन्देशसहित देशभर उल्लासपूर्ण वातावरणमा मनाइँदै छ ।