काठमाडौँ, ७ फागुन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसले सबैलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धितर्फ अघि बढ्न नयाँ उत्साह र प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उजले आज निरंकुश शासनविरुद्धको सङ्घर्षले विजय हासिल गरेको ऐतिहासिक दिन रहेको बताएकी छिन् । सन्देशमा पूर्व राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसले लोकतन्त्र प्राप्तिका लागि नेपाली जनताले गरेको लामो सङ्घर्ष, त्याग र बलिदानको स्मरण गराउने बताएकी छिन् ।
“यो दिवसले जनताको एकताबद्ध शक्तिले लोकतन्त्र, मानवअधिकार र राजनीतिक स्वतन्त्रता स्थापना गर्न सकिने प्रेरणादायी सन्देश दिन्छ,” उनले भनेकी छिन्, “लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्था मात्र नभइ व्यवहार र संस्कारको रूपमा आत्मसात् गर्दै यसको संरक्षण र सुदृढीकरणका लागि निरन्तर प्रयासरत रहनु आवश्यक छ ।”
सन्देशमा पूर्व राष्ट्रपति भण्डारीले संविधानले प्रत्याभूत गरेका अधिकार र दायित्वको सन्तुलित प्रयोगमार्फत लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउँदै लैजानु अपरिहार्य रहेको उल्लेख गरेकी छिन् । उनले विशेष राजनीतिक परिस्थितिमा, यही फागुन २१ गते हुने आम निर्वाचनलाई निष्पक्ष, शान्त र विश्वसनीय बनाउनु सबैको साझा दायित्व रहेको बताएकी छिन् । रासस




प्रतिक्रिया