काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रितसम्बन्ध हुँदै २०४६ सालको परिवर्तन र २०६२/६३ सालको आन्दोलनमार्फत सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति नै भएको बताएका छन् ।
फागुन ७ गते प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै उनले कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन भएको उल्लेख गरेका छन् । विसं २००७ को ऐतिहासिक जन–क्रान्तिले १०४ वर्ष लामो निरङ्कुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्रको स्थापना गरेको गौरवमय दिनका उनले समस्त नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
“कात्तिक २६, २००७ देखि प्रारम्भ भएको ऐतिहासिक जनक्रान्तिले केवल राजनीतिक परिवर्तन मात्र होइनस आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिकलगायत हरेक क्षेत्रमा यसले अग्रगामी मार्ग प्रशस्त गरेको थियो,” सभापति थापाले उल्लेख गरेका छन्,“मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ नेपालले साहसी कदम चाल्यो । प्रजातन्त्रसँगै सुदृढ राष्ट्रियता, नागरिक अधिकार र जन–सहभागिताको बलियो आधार पनि यही दिनले निर्माण ग¥यो ।”
उनले राष्ट्रिय स्वाधिनता र नागरिक अधिकार लागि पटक–पटक भएका क्रान्ति, सङ्घर्ष र आन्दोलनमा अनेकौ सपूतहरूले लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेका गरेका छन् । सभापति थापाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत स्थायित्व कायम गर्दै नेपाललाई आर्थिक रूपले समृद्ध मुलुकमा रुपान्तरण गर्न सक्यौँ भने मात्र लोकतान्त्रिक आन्दोलनमा बलिदानी दिने सहिदहरुप्रति सच्चा सम्मान प्रकट हुने बताएका छन् ।
लोकतन्त्र स्थापना र पुनःस्थापनाको सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहीदप्रति श्रद्धासुमन अर्पण गर्दै सभापति थापाले उनीहरूको त्याग, साहस र बलिदानको उच्च सम्मान गरेका छन् । रासस




प्रतिक्रिया