‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’को तयारी पूरा


काठमाडौँ, ७ फागुन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’को तयारी पूरा भएको जनाएको छ ।

देशका विभिन्न ६ वटा प्रदेशमा सम्पन्न भएको प्रादेशिक ललितकला प्रदर्शनीअन्तर्गत यो अन्तिम प्रादेशिक ललितकला प्रदर्शनी हो । यही फागुन ८ गतेदेखि प्रतिष्ठानको कार्यालय नक्सालमा सुरु हुने प्रदर्शनीमा यसपटक २०० बढी कलाकारका २३० भन्दा बढी कलाकृति समावेश गरिने कार्यक्रम संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए ।

यो प्रदर्शनीलाई ललितकलाकै महोत्सव मानिन्छ । यसअघि माघ १५ गते गण्डकी प्रदेशबाट प्रादेशिक कला प्रदर्शनीको थालनी भएको थियो । झण्डै एक महिनासम्म सञ्चालन हुने प्रादेशिक कला प्रदर्शनीअन्तर्गत भोलिदेखि सुरु हुने बागमती प्रादेशिक ललितकला प्रदर्शनी भने यही फागुन १२ गतेसम्म सञ्चालन हुने संयोजक लामाले जानकारी दिए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँले स्थानीय निकाय तथा संस्थासँगको सहकार्यमा विगत तीन वर्षदेखि सङ्घीय संरचना अनुसार नै कला प्रदर्शनी सुरुवात गरेको थियो । प्रदेशगतरुपमा हुने प्रदर्शनीले रैथाने तथा लोककला प्रवद्र्धनमा सहयोग पुगेको र राउटे, डोम, थारु समुदायका कला पनि बाहिर आएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए ।

प्रतिष्ठानले सङ्घीय संरचना अनुसार सातै प्रदेशमा कला प्रदर्शनीको थालनी गरेको यो तेस्रो पटक हो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले कलामा रुपान्तरण अभियानअन्तर्गत प्रदेशहरुमा कला प्रदर्शनी आयोजना गरिएको र त्यहाँबाट छानिएका कला आगामी जेठ १५ गतेदेखि सुरु हुने राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराइने बताए ।

‘सामाजिक रूपान्तरण स् ललितकलाको अभियान’ भन्ने मूल भावमा रही आयोजना हुने प्रदर्शनीमा कलाको सजावटका सबै काम पूरा भएको र अब उद्घाटन सत्रका काम मात्रै बाँकी रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले बागमती प्रदेशका सबै विधाका कलाकृति अवलोकन गर्न पाइने बताए । वैदेशिक ललितकला प्रदर्शनी अन्तिम चरणमा पुगेकाले आगामी जेठ १५ गतेदेखि ३० गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनी २०८३ को तयारी सुरु भएको र सोही कार्यक्रममा कलाकारलाई पुरस्कार तथा सम्मानसमेत प्रदान गरिने जनाइएको छ । रासस(