काठमाडौं, ७ फागुन । रास्वपाका वरिष्ठ नेता तथा पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहले कर्णालीको सपना अब आफूहरुको सपना हुने भएकोले ती सबै सपना बोकेर काठमाडौं जानेब ताएका छन् । उनले रास्वपा कर्णालीको सभ्यतालाई जोगाउने पार्टी भएको बताए ।
आज (बिहीबार) सुर्खेतमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘यो देशको सबैभन्दा ठूलो रारा ताल, राजा महेन्द्रले भन्नुभएको जस्तो स्वर्गकी अप्सरा भएको ठाउँमा आउन पाउँदा धेरै खुशी लागेको छ । देशको सबैभन्दा लामो नदी, सबैभन्दा ठूलो जिल्ला, सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ हो यो । यहाँ देशकै सबैभन्दा गहिरो ताल पनि छ, जुन तालको गहिराईलाई यो देशको सरकारले र पार्टीले बुझ्न सकेनन् । त्यो गहिराई बुझ्ने पार्टी हो रास्वपा ।’
आजको दिनमा कर्णालीका उत्पादन स्या र मार्सी चामल चितवन र झापासम्म पुग्न नसकेको अवस्थाको चित्रण गर्दै अब यहाँका उत्पादनलाई कत्मिा पनि देशभरि पुर्याउने विश्वास दिलाए । उनले भने,‘आजको दिनमा डोल्पाको सुनजस्तो मानिने यार्सागुम्बा विश्वभरि पुग्न सक्छ, कर्णालीको स्याउ र मार्सी चामल त्यहीँ चितवन र झापा पुग्न सक्दैन । यहाँको उत्पादनलाई कम्तिमा पनि देशभरि पुर्याउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी । सिन्जा उपत्यका सभ्यता भएको ठाउँ, नेपाली भाषाको उद्गमस्थल, खस भाषाको उद्गमस्थल, यहाँ आफ्नै भाषा छ, आफ्नै लिपि छ, आफ्नै चित्रकला छ, आफ्नै नाचगानपनि छ, जात्रा पनि छ । त्यो सबै सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा ।’
उनले कर्णालीको गरिबी, दुःख, पीडा बेच्ने धेरै आएपनि आफूहरु अब ती सबै दुःख, पीडा बुझ्न आएको बताए । अन्तिममा उनले भने,‘तपाईँहरूको सपना बोकेर जान पाउँ । त्यो बोक्ने सुरूवात वाचापत्रबाट गरेका छौं । कर्णालीबाट वाचापत्र घोषणा गरेका छौँ । आज उप्रान्त तपाईँहरूको सबै सपना हाम्रो सपना हुनेछन् ।’




प्रतिक्रिया