देउवा निकट भट्टको बहिर्गमन, डडेल्धुरामा देउवालाई ‘बाइपास’ गर्दै नैनसिंहले विशेष महाधिवेशन पक्षधरबाट टिकट लिएको आरोप


काठमाडौं, फागुन ९ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस अमरगढी नगर कार्यसमितिकी सचिव देवकी भट्टले पार्टी परित्यागको घोषणा गरेकी छन्। भट्टले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भई सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी भट्टले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेकी हुन्।

पारिवारिक विरासत र बाल्यकालदेखिको प्रजातान्त्रिक सोचका कारण कांग्रेससँग जोडिएको उल्लेख गर्दै उनले पार्टीको ऐतिहासिक योगदानप्रति गर्व व्यक्त गरेकी छन्। राणा शासनविरुद्धको आन्दोलनदेखि प्रजातन्त्र स्थापनासम्म कांग्रेसले खेलेको भूमिकालाई स्मरण गर्दै उनले बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, किशुनजीलगायत अग्रज नेताहरूको त्याग, समर्पण र निष्ठाबाट प्रेरित भएर राजनीतिमा लागेको बताएकी छन्।

तर पछिल्लो समय पार्टीभित्र इमान्दार, लगनशील र योग्य कार्यकर्ताको उचित मूल्याङ्कन नहुने, चाकरी, चाप्लुसी, नातावाद र कृपावाद हावी हुँदै गएको आरोप उनले लगाएकी छन्। यस्तो परिवेशमा पार्टी रूपान्तरण कठिन बनेको उनको भनाइ छ।

उनले सुदूरपश्चिमका अग्रज नेता तथा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाप्रति गरिएको व्यवहारप्रति असन्तोष व्यक्त गर्दै त्यसले आफूलाई थप मर्माहत बनाएको उल्लेख गरेकी छन्। राजीनामा घोषणा गर्दै भट्टले सामाजिक र राजनीतिक क्षेत्रमा आफ्नो सक्रियता निरन्तर रहने प्रतिबद्धता जनाएकी छन्।

भट्टलाई देउवा पत्नी आरजु राणा देउवा निकट मानिन्छ। पछिल्लो समय डडेल्धुरामा कांग्रेस उम्मेदवार नैनसिंह महरले देउवालाई ‘बाइपास’ गर्दै विशेष महाधिवेशन पक्षधर समूहबाट टिकट ल्याएको आरोप लागिरहेको छ। सोही कारण देउवा दम्पती महरसँग रुष्ट रहेको चर्चा छ। पटक–पटकको प्रयासका बाबजुद पनि देउवाले महरलाई भेट नदिएको बताइन्छ।